‘व्यथित काव्य सम्मान’ घोषणा 

शनिबार, असोज २९, २०७९

काठमाडौँ । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसर पारेर राधेश्याम लेकालीको अध्यक्षतामा सङ्घको हालै बसेको कार्यसमितिले कविहरु उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९)  लाई ‘व्यथित काव्य पुरस्कार’ द्वारा सम्मानित गर्ने निर्णय गरेको छ । 
कवि उदय निरौलाका ‘कोलाहल पिएर’, ‘जराहरु किमार्थ मर्दैनन्’, ‘शीतको लहर’, ‘उदय निरौलाका प्रतिनिधि कविताहरु’, ‘अस्ताउँदो घाम टेकेर’, कवि श्रवण मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ कविताकृतिहरु प्रकाशित छन् । 
यस्तै कवि रमेश श्रेष्ठका ‘चराहरुको पहाड’, ‘आमा नदीहरु’, ‘बुद्ध बिम्ब अक्षर बिम्ब’, ‘घाँस उखेलिरहेकी केटी’, ‘रोदी रोएको देशमा’, ‘कविताको उज्यालो’, ‘अग्निनृत्य’, ‘चोक र तमसुक, ‘नपोतिएका रंगहरु’, कवि कृसु क्षेत्रीका ‘बोधिसत्वको मृत्युउत्सव’, ‘चराको गीत’, ‘आगोको मूर्च्छना’, ‘रगतको दरबार’, ‘नीलो आँसु’, ‘अर्द्द्मुदित आँखाहरु’, ‘माफ गर’ जस्ता कविता, गजल र गीतका कृतिहरु प्रकाशित छन् । यस्तै कवि मोमिला जोशीका ‘पैयु फूल्न थालेपछि’, ‘नीलो–नीलो आकाश र दुई थोपा आँसु’, ‘जूनकीरीहरु ओर्लिरहेछन’, ‘दुर्गम उचाइमा फूलको आँधी’, ‘भीमसेन थापाको सुसाइड नोट’ जस्ता कविताकृतिहरु प्रकाशित छन् भने कवि गीता कार्कीका ‘मलाई अँध्यारो नै चाहिन्छ’, ‘सालका ठुटा र एक टुक्रा घाम’ र ‘आमा किरणहरुको छालमा’ जस्ता कविताकृतिहरु प्रकाशित छन् । 

साहित्यिक पत्रकार सङ्घबाट विसं २०३९ मा स्थापित व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगत्का सुपरिचित कविलाई प्रदान गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरु दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मञ्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मञ्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, मोहन दुवाल, कृष्ण जोशी, डा राममान तृषित, विमल निभा आदि सम्मानित भइसकेका छन् । 

तीन स्रष्टालाई भारती खरेल स्मृति पुरस्कार 

भारती खरेल स्मृति पुरस्कार तीन स्रष्टा र समाजसेवीलाई प्रदान गरिने भएको छ । भारती खरेल प्रतिष्ठानले विगत तीन वर्षदेखि रोकिएको उक्त पुरस्कार आगामी मङ्सिरमा मुलुकका मर्थन्य स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरेको हो ।

प्रतिष्ठानको बैठकले विसं २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालका संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई दिइने निर्णय गरेको सदस्य सचिव प्रयागराज भट्टराई वाशिष्ठले जानकारी दिए । पुरस्कारको राशि नगद रु ५१ हजारसहित सम्मानपत्र रहेको छ ।

विसं २०७७ देखि स्थगित भएको यो पुरस्कार कोभिड–१९ का कारण तीन वर्षदेखि स्थगित थियो । भक्तिमती एवं विशिष्ट साहित्य साधिका स्व. भारती खरेलको ८५औँ जयन्तीका अवसरमा उक्त पुरस्कार वितरण गर्न लागिएको सचिव वाशिष्ठले बताए ।  
स्व. भारती खरेलको स्मृतिमा वरिष्ठ समाजसेवी चन्द्रिकानन्द खरेल (पति), वरिष्ठ गायक दीपक खरेल (छोरा) लगायतले स्थापना गरेको प्रतिष्ठानले हरेक वर्ष मङ्सिर १६ गते एक समारोहकाबीच पुरस्कृत गर्दै आएको छ । विसं २०४९ मा स्थापना भएको प्रतिष्ठानले साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्म जयन्तीको अवसरमा साहित्य, समाजसेवा, भक्तिलगायत विभिन्न क्षेत्रमा आबद्ध विशिष्ठ व्यक्ति एवं संस्थालाई पुरस्कृत गर्दै आएको छ ।
विसं २०४९ मा भारती खरेल प्रतिष्ठान स्थापना भएदेखि प्रदान गर्न सुरु गरिएको यस पुरस्कार स्वामी प्रपन्नाचार्य, दयारवीर सिंह कंसकार, भीमबहादुर अधिकारी, साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेलगायत व्यक्ति र स्वर्गद्वारी आश्रम, जाउलाखेल सत्संग परिवार, अद्वैत संस्था, महेश गुरुकूल सन्याश्रमलगायत संस्थालाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार