खुल्यो सुर्खेतदेखि कालिकोटसम्मको कर्णाली राजमार्ग

बिहीबार, असोज २७, २०७९

दैलेख । अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ । बिचमा पर्ने दैलेख खण्ड छ दिनदेखि बन्द थियो । 
राजमार्ग खुलेसँगै सुर्खेतदेखि कालिकोटसम्म आजदेखि सवारीसाधन चल्न थालेका छन् । बुधबार राति नेपाली सेनाले राजमार्गअन्तर्गत दैलेख खण्डको आठविस नगरपालिकाको खिड्कीज्यूलामा विस्फोटक पदार्थ प्रयोग गरेर ठूलो ढुङ्गा फोडेसँगै कालिकोटसम्मको सडक खुलेको हो । 
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा अधिकारीहरूको उपस्थितिमा विस्फोटक पदार्थ प्रयोग गरी सडक सञ्चालनमा आएको हो । नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरी ठूलो ढुङ्गा फुटाएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए । “कालिकोटसम्म सवारीसाधन चल्न मिल्ने गरी सडक खुलेको छ”, प्रमुख साहले भने, “ठाउँठाउँमा पहिराले सडक बिग्रेकाले होसियारीपूर्वक सावरी चलाउनुपर्छ ।” उनका अनुसार दैलेखका सिमानामा भएका अवरुद्ध बाटाहरु सबै खुलाइएको छ ।
कालिकोटदेखि जुम्ला जोड्ने सडक बाढीपहिराले कटान गरेसँगै अवरुद्ध भएको छ । बाढीपहिराले कालिकोट खण्डको एसमोड र सेरी घाटमा सडक अवरुद्ध भएको छ । तिला नदीले सडक कटान गरेकाले नयाँ सडक बनाउनुपर्ने हुन्छ । 

सिञ्जाका तीन स्थानीय तह सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

दसैंदेखि असोज २३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त जुम्ला सिञ्जा क्षेत्रका तीन स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणका लागि माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सिञ्जा क्षेत्रका कनकासुन्दरी, हिमा र सिञ्जा गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष माग गरेको छ । अविरल वर्षाका कारण ती स्थानीय तहमा जनधनको क्षति भएकाले सङ्घीय सरकारलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए । 
बैठले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को (१) बमोजिम जुम्ला जिल्लाका कनकासुन्दरी, सिञ्जा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडानं १, ३, ४, ६, ७ र ८ तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको वडा नं। ३ लाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी केसरीले बताए ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार विपद्ले जुम्लामा एक हजार छ सय ७५ घर विस्थापित भएका छन् । तीन सय १६ घर पूर्ण क्षति, चार सय ४० घर उच्च जोखिम, ७२६ घर आंशिक क्षति भएका छन् । बाढीपहिराले जुम्लामा १० जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । 
“क्षतिको थप विवरण आउन अझै बाँकी छ”, सहायक प्रजिअ रिजालले भने, “यसका लागि स्थानीय तह र विषयगत कार्यालयलाई निर्देशन स्थलगत रुपमा पुगेर तथ्य विवरण ल्याउन सुझाएका छौँ । आजको बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार असोज १९ गते परेको अविरल वर्षा र बाढीले अवरुद्ध कर्णाली राजमार्ग खुलाउन जुम्ला रारालिहीदेखि नाग्म सडकमा डोजर लिएर जिल्लाको सरोकारवाला सबै टोली त्यहाँ पुगेको उनले बताए । 
सडक सुचारु गर्न काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाको कार्यालय, प्रहरी चौकीसमेत डुबानमा परेको जनाउँदै त्यसको आवश्यक व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला र खलढुङ्गालगायतका बस्ती पहिराले विस्थापित बनाएकाले उनीहरुको पुनःस्थापनामा प्राथमिकता दिन आग्रह गरे । 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार