सोसल मिडिया
Contact Us
युनिकोड
कास्की । गण्डकी प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आज सम्पन्न दुई खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र सुदुर पश्चिम प्रदेश बिजयी भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धाको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । यसैगरी दोस्रो खेलमा सुदुरपश्चिमले घरेलु टोली गण्डकी प्रदेश माथि छ विकेटको जित निकालेको खेलमा बागमतीले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा ८९ रन जोडेको थियो । जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर जितको लक्ष्य भेट्टायो । एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाइन् । बागमतीको तर्फबाट अस्मिना कर्माचार्यको अविजित १९ तथा सुमन खतिवडाको १९ रनको पारी खेलिन् । एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक -एक विकेट लिए । बागमतीका बलरहरू सोनी पाख्रिन र सुमन खतिवडाले समान दुई-दुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिए । यसैगरी घरेलु टोली गण्डकी प्रदेशलाई छ विकेटले सुदुरपश्चिमले पराजित गर्यो । पहिला व्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको क्षतिमा ५९ रन बनायो । गण्डकीको तर्फबाट श्रृष्टि जैशीले २८, ज्योत्स्निका मरासिनीले सात, सिमाना केसीले छ, सिला क्षेत्रीले अविजित छ रन बनाउनुभयो । सुुदुर पश्चिमको बलिङतर्फ रितु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एक÷एक विकेट लिए । जितका लागि ६० रनको लक्ष्य सहित मैदान उत्रिएको सुदुर पश्चिमले १० दशमलव दुई ओभरमा चार विकेट गुमाउँदा विजयी लक्ष्य प्राप्त ग¥यो । सुदुर पश्चिमको व्याटिङमा रितु कनौजियाले २० बलको सामना गर्दै तीन चौकाको मद्धतमा २२ रन बनाइन् । यसैगरी स्नेहा महराले २७ बलमा चार चौका सहित २१ रन जोडिन् ।
महिला ह्याण्डबलमा गण्डकीको लगातार दोस्रो जित
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलको दोस्रो खेलमा घरेलु गण्डकीले लगातार दोस्रो जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिम माथि २७–४ को जित निकाल्दै ६ अङ्क थपेको छ । आइतबारको पहिलो खेलमा गण्डकीले कर्णालीलाई ५८–२० को फराकिलो अन्तरले जितेको थियो । गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन् । आजकै अर्को दोस्रो खेलमा समूह ‘बी’ मा रहेको कर्णालीले विजय हासिल गरेको छ । खेलमा कर्णालीले मधेसमाथि ११–७ ले जित निकालेको हो । खेलमा कर्णालीकी अञ्जली शाही र सङ्गीता सिंहले सर्वाधिक समान पाँच÷पाँच स्कोर गरेका थिए । जितसँगै कर्णालीले महत्वपूर्ण तीन अङ्क जोडेको छ । मधेस प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित बनेको छ । मधेश पहिलो खेलमा विभागीय नेपाल आर्मीसँग २–४६ ले पराजित बनेको थियो । कर्णालीले पहिलो खेलमा प्रदेश–१ सँग ४–२६ ले पराजित भएको थियो । समूह ‘बी’ को प्रदेश–१ ले बागमती प्रदेशलाई दोस्रो खेलमा २४–८ ले पराजित गरेको छ । पहिलो खेलमा सोमबार कर्णाली विरुद्ध २६–४ ले जित निकालेको प्रदेश–१ ले अपराजित रहँदै ६ अङ्क थपेको छ । प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गरिन् ।
पुरुष ह्याण्डबलमा बागमतीको जित
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले जित दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेस प्रदेशमाथि २१–१३ को अन्तरले जित हासिल गरेको हो । बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक पाँच गोल गरे । पहिलो खेलमा विभागीय आर्मीसँग ८–४३ ले हार बेहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण तीन अङ्क जोडेको छ । लगातार दोस्रो खेलमा पराजित मधेश भने अङ्कविहीन छ । मधेसले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो ।
फेन्सिङमा राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण पदक
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजको खेलमा तीन स्वर्ण पदकको छिनोफानो भएको छ । फेन्सिङतर्फ ‘एकल सेभर’ विधातर्फ एपीएफका राजेन्द्र गजुरेल, महिलातर्फको ‘फोयर’ विधामा आर्मीका रमा सिंह र पुरुषतर्फको ‘इपि विधा’ मा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालास्थित ब्याडमिन्टन हलमा भएको प्रतिस्पर्धाको साँझ सम्पन्न खेलमा एपीएफका गजुरेलले टिमका लागि पहिलो स्वर्ण दिलाए । उनले यस अगाडि सातौँ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, आठौँमा टिम र एकलतर्फ रजत पदक जितेका थिए । सेभरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रतज पदक हासिल गरे भने आर्मीकै रघुवीर चन्द्र र एपीएफका खेमराज खत्रीले कास्य पदक हासिल गरे ।
महिला तर्फको फोयरमा स्वर्ण पदक विजेता सिंहले सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण र आठौँमा रजत पदक हासिल गरेका थिए । एपीएफका मनिषा राईले रजत पदक र एपीएफकै मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पारे । पुरुषतर्फको इपि विधामा स्वर्ण जित्ने सिंहले आठौँमा पनि स्वर्ण पदक जितेका थिए । इपिमा आर्मीका राम थापाले रजत पदक जिते । त्यसैगरी गण्डकी प्रदेशका विजय अधिकारी र एपीएफका मीन कार्कीले कास्य पदक जित्न सफल भए । गण्डकी प्रदेशका अधिकारी पहिलो पदक जित्न सफल भए । हालसम्म फेन्सिङको अङ्क तालिकाअनुसार आर्मी शीर्ष स्थानमा छ । आर्मीले दुई स्वर्ण, तीन रजत र चार कास्यसहित नौ पदक प्राप्त गरेको छ । यसैगरी बागमती प्रदेश दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, दुई रजत र छ कास्यसहित नौ पदकका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण पदकसहित चौथो स्थानमा छ । यसैगरी आयोजक गण्डकी प्रदेश एक कास्यसहित पाँचौँ स्थानमा रहेको छ । प्रदेश नम्बर एकले अहिलेसम्म पदक जित्न सकेको छैन । प्रतियोगितामा आजका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पदक वितरण गरे ।