नवलपुरमा नवौँ राष्ट्रिय खेलकुदका दुई खेल हुने

आइतबार, असोज २३, २०७९
Global Ime Bank

त्रिवेणी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत नवलपुरमा दुई खेल हुने भएका छन् । यही असोज २८ गते कास्कीको पोखरामा उद्घाटन समारोह तय गरिएकाले दुई खेल नवलपुरमा खेलाइने तय भएको हो । 
प्रतियोगितामा समावेश भएका ३६ खेलमध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कुस्ती र सेपाताक्रो खेल हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी दिए । नवलपुर सदरमुकाम कावासोतीमा दुवै खेल खेलाइने छन् । सेपाताक्रो कावासोती– २ स्थित योङ्ग स्टार क्लबको कभर्डहलमा असोज  २९ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने छ ।  सेपाताक्रो खेलमा देशभरबाट ९८ खेलाडी सहभागी हुने पुनले बताए  । 
यसैगरी नवौँ राष्ट्रिय खेलकुदअन्र्तगत कुस्ती प्रतियोगिता कावासोती–१६ डण्डस्थित थारू सङ्ग्रहालय परिसरमा सञ्चालन हुने अध्यक्ष पुनले जानकारी दिए । कुस्तीमा देशभरबाट एक सय ५८ खेलाडी सहभागी हुने छन् । दुवै स्थानमा प्रतियोगिताको तयारी जारी छ । दुवै खेलको बन्द प्रशिक्षण नवलपुरमा चलिरहेको छ । सेपाताक्रो गण्डकी प्रदेशका प्रशिक्षक जनार्दन पौडेलका अनुसार अहिले कावासोतीमा गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण जारी छ । कुस्तीमा भाग लिने गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण भने त्रिवेणीमा चलिरहेको छ ।  

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार