प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता आज

शनिबार, असोज २२, २०७९

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज आइतबार प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यतालिका छ । यसका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।  
निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन् । आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 
आयोगले त्यसका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरे । 
उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे । 
आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्नसमेत सम्बन्धित सबैमा उनले आग्रह गरेका छन् । प्रमुख आयुक्त थपलियाले विविध कारणवश केही दलले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरेको भए पनि दलले प्रायःअन्तिम समयमा मात्रै उम्मेदवारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट गरे । 
उनले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट गर्दै आवश्यकता र औचित्यताका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा संशोधन गरिएको जानकारी दिए । 
प्रमुख आयुक्त थपलियाले विगतको अनुभव र प्रतिक्रियालाई आधार मानेर मतदानका दिन व्यवस्थितरुपमा सार्वजनिक सवारी साधन सञ्चालन गराउने सम्बन्धमा सरोकारवाला निकायका प्रतिनिधिसहितको कार्यदल गठन गरिएकाले सो कार्यदलको सुझावबमोजिम कार्यान्वयन गरिने बताए ।
निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
 आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम राजनीतिक दल वा उम्मेदवारले  गर्ने खर्चको अधिकतम हद तोक्ने निर्णय गरी यही असोज १६ गते सार्वजनिक गरिसकेको छ ।

समानुपातिकको मतपत्र छपाइ

आयोगले समानुपातिक निर्वाचनतर्फका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, भक्तपुरबाट कूल चार करोड ५५ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ । 
यसमध्ये प्रतिनिधिसभा सदस्यतर्फ एक करोड ९८ लाख ७१ हजार र प्रदेशसभा सदस्यतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ यही असोज २७ गतेदेखि मतपत्र छपाइ कार्य सुरु हुनेछ ।

आचारसंहितामा संशोधन 

आयोगले निर्वाचन आचारसंहिता, २०७९ मा यही असोज १६ गतेको निर्णयबाट पहिलो संशोधन गरेको छ । सामान्य त्रुटि सुधारका अतिरिक्त मूल आचारसंहिताको दफा ५ र अन्य दफामा केही संशोधन भएका छन् । संशोधित आचारसंहितामा ‘नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचारण’ का सम्बन्धमा प्रतिबन्धात्मक वाक्यांश थप स्पष्ट बनाइ निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रसारप्रसारमा संलग्न हुनसक्ने प्रबन्ध गरिएको छ । 
यस्तै नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीले आयोगको सहमति लिइ त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारका काममा संलग्न हुनसक्ने छन् । स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुनसक्ने र नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचनको प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

बन्दसूचीको सूचना प्रकाशन रातिसम्म

निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना आज ५ बजेसम्म प्रकाशन गर्ने कार्यक्रम रहेकामा राति अबेरसम्म प्रकाशन हुने भएको छ । आयोगले दलबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइ सोबारे सम्बन्धित दललाई जानकारी दिएको थियो । 
यही असोज २० गतेदेखि आजै ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस भएको छ । ती नामसहित प्रतिनिधिसभा र प्रदेशसभामा गरी छ हजार चार सय ९३ जना उम्मेदवार रहेका छन् ।
निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड, ७९ लाख ८८ हजार ५७० मतदाता सङ्ख्या रहेका छन् । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार ८०६ र महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार ५७९ रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ ।

मनोनयनपत्र दर्तामा कठिनाइ भए आयोगले सहजीकरण गर्ने
निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत पहिलो हुने निवचित हुने प्रणालीतर्फ मनोनयनपत्र दर्ताका लागि हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ हुने हकमा आवश्यक सहजीकरण गर्ने भएको छ ।
त्यस्तो घटना भएका स्थानमा लागि  आवश्यक कागजात असोज २३ गते बिहान १० बजेभित्रमा यस आयोगको कार्यालय, कान्तिपथ, काठमाडौँमा प्राप्त भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइ आवश्यक सहजीकरण गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । 
सोका लागि उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा, स्वघोषणा, दलको उम्मेदवारको हकमा दफा १९ बमोजिमको औपचारिकपत्र, दफा २० बमोजिम धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर, उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम, र उम्मेदवारको वैयक्तिक विवरण आयोगलाई बुझाउनुपर्नेछ ।

जिल्ला निर्वाचन कार्यालयमा जरिवाना बुझाउन सकिने
निर्वाचन आयोगले संवत् २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानूनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनस्थित कार्यालय, सातवटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा  समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको छ । आयोगले सो निर्णयबारे आज विज्ञप्तिमार्फत जानकारी दिइएइको हो ।
आयोगले कानुनबमोजिमको जरिवाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजस्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेशरजिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि निर्देशन दिएको थियो ।–रासस 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार