अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

शनिबार, असोज २२, २०७९

रामेछाप । रामेछाप नगरपालिकास्थित सुकाजोरका  किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरुले मनग्य आम्दानी गर्र्ने गरेका हुन् । 
सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रुपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्की  बताए । उनले आफ्नो पाँच रोपनी जग्गामा दुई हजार अकबरे खुर्सानीको खेती गरेर अचार उद्योग सञ्चालन गरेका हुन् । उनले अकबरेका अलावा निबुवा, कागती, करेला, मूला, अमलालगायत विभिन्न प्रकारका कच्चापदार्थहरु जम्मा गरी अचार बनाएर बिक्री गर्ने गरेको जानकारी दिए । 
उनले अचार बेचेर नै वार्षिक १५ लाखसम्म आम्दानी गरेका छन् । गाउँमा सामूहिक रुपमा पनि अकबरे खुर्सानी खेती गरिएको छ । यो खुर्सानीले बेफाइदा नगर्ने भएकाले पनि गाउँका अधिकांश कृषकहरु यस खेतीतर्फ लागेका छन्, कम मेहनत र खर्चमा यो खुर्सानी उत्पादन हुने र उत्पादन भएको खुर्सानी गाउँमै खपत हुने भएपछि स्थानीयहरुको यस खेतीप्रति आकर्षण बढेको हो । अकबरे खुर्सानीको अचार को मुख्य बजार रामेछापको सदरमुकाम मन्थली, सिन्धुलीको खुर्कोट र काठमाडौं भएको पनि कार्की बताउँछन् ।    
 उनले भने, “अहिले  गाउँमा खुलेको  अचार उद्योगले गाउँमा उत्पादन भएका जम्मै खुर्सानी खरिद गरिदिन थालेपछि  गाउँले हरु अधिकांशले यसको खेती गरिरहेका छन् । आफ्नो उमेर ढल्कँदै गएको र यस पेसालाई निरन्तरता दिइयोस् भनेर गाउँका अरू कृषकहरुलाई पनि यो सीप सिकाउने गरेको छु ।” 
उमेरले ६५ लागेका कार्कीको सीप र जाँगरमा कुनै कमी देखिँदैन । कहिले कोभिड र कहिले डेङ्गुको महामारीले गर्दा व्यवसायमा कमी आउने गरेको भए पनि उनी उत्साहित भएर आफ्नो कर्ममा लागिरहेका छन् । नौवटा वडा रहेको  नगरपालिकामा बढी जसो खुर्सानी, अदुवा र जुनार उत्पादन हुने हुनाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा नगरपालिकाले यसलाई जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जडीबुटी सदुपयोग गर्न माग
प्राकृतिक जडीबुटीको भण्डारका रूपमा चिनिने सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी पहिचान र सदुपयोग गर्न नसक्दा बर्सेनि खेर गइरहेको छ । 
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चिराइतो, कुड्की, नागबेली, पाउडर झ्याउ, ठूलो ओखतो, लोठसल्ला, धूपी, सुनपाती, जटामसीलगायत जडीबुटी पाइन्छ  । निकुञ्ज क्षेत्रको स्याउले, सेलाङ, गुम्बा, गोल्चे, गुन्सा, थाङपालकोट, भोताङलगायत जङ्गलहरूमा यस्ता जडीबुटी प्रशस्त मात्रामा पाइने गरेको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका वडाध्यक्ष काले गोलेले बताए । 
अन्य जडीबुटी सङ्कलन नभए पनि आंशिक रूपमा यार्सागुम्बा सङ्कलन गर्न सुरु भएको पाँचपोखरी थाङपाल गाउँपालिका–३ का वडाध्यक्ष नीमछिरिछ तामाङले जानकारी दिए । यस क्षेत्रका कमैले मात्रै रोग लागेपछि मेडिकलको औषधि प्रयोग गर्ने गरेको भोताङका नीरबहादुर तामाङ बताए । उनले भने, “जे भए पनि यहीँको झारपातलाई औषधि बनाएर खाने गरेका छौँ ।” 
राजधानीबाट नजिक रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी इन्द्रबहादुर गुरुङलाई जडीबुटीको सदुपयोग नहुँदा दुःख लागेको बताए । उनका अनुसार यस क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी पहिचान गरेर यसको सदुपयोग गर्नसके यस क्षेत्रका बासिन्दाको जीवनस्तर उठ्न सहज हुने थियोे ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार