सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले बिहीवार बिहान पक्राउ गरेको छ । ‘कतार एअरवेजको उडान नं ६४८ बाट आज बिहान काठमाडौं आइपुगेका लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो’, नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । आउँदो सोमवार लामिछानेलाई अदालतमा पेश गर्ने प्रहरीको तयारी छ। ‘आइतवारसम्म सार्वजनिक बिदा परेकाले अब सोमवार हामी उनलाई अदालतमा पेस गर्छौँ’, जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक दिनेश मैनालीले भने। प्रहरीले अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी माग्नेछ ।
कहाँ राखिएको ? अब के हुन्छ प्रहरीले नियन्त्रणमा लिएपछि सन्दीपलाई हतकडी लगाइएको थियो । पक्राउ गरेपछि सन्दीपलाई प्रहरी वृत्त गौशाला लगिएको बताइएको छ।
एसपी मैनालीका अनुसार अबको २५ दिनभित्र प्रहरीले अनुसन्धान पूरा गरी रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्नेछ। ‘विधि र प्रविधि मिलाएर अनुसन्धान गर्नेछौँ, अनुसन्धानको परिणाम सम्मानित अदालत समक्ष पेश गर्नेछौँ’, मैनालीले भने । करिब एक महिनाअघि लामिछनेविरुद्ध जबरजस्ती करणी गरेको भन्ने किटानी जाहेरी परेपछि नै प्रहरीले अनुसन्धान शुरू गरेको थियो । प्रहरीले सन्दीप लामिछाने निर्धारित समयभित्र नेपाल नआएपछि उनी विरुद्ध इन्टरपोलमार्फत् सूचना पनि जारी गरेको थियो । त्यसपछि सन्दीपले पहिलो पटक फेसबुक स्टेटस लेख्दै आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने जनाएका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्दै मैत्रीपूर्ण टी–२० र एक दिवसीय शृङ्खलाका लागि केन्या पुगेका लामिछाने त्यतैबाट क्यारिबीअन लीग खेल्नका लागि जमैका पुगेका थिए । उनी नेपालबाहिर गएका बेला एक नाबालिग किशोरीले लामिछानले नेपालमा आफूलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएको नेपाल प्रहरीले बताएको थियो ।
गत भदौ २३ गते काठमाडौं जिल्ला अदालतले उनीमाथि ‘थप अनुसन्धान गर्नू पक्राउ पुर्जी जारी गरेको थियो ।’ लगत्तै भदौ २४ गते ट्वीटमार्फत् लामिछानले आफू केही दिनमै स्वदेश फर्किएर आरोपको कानुनी सामना गर्ने बताएका थिए । नेपाल क्रिकेट सङ्घ क्यानले पनि यसबीचमा उनी आफ्नो ‘औपचारिक सम्पर्कमा नरहेको’ बताएको थियो ।