दशैँ गाउँमै रमाइलो, घर फर्कनेको लर्काे

सोमबार, असोज १७, २०७९

गलकाेट । रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् ।
दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो । एघार जनाको परिवार रहेको उनका श्रीमान् मृत्यु भयो । छोरा छोरी र नातनातीना बजार झरेपछि उनी एक्लै भएकी छन् । उनी मात्रै होइन अहिले सोही गाउँका अधिकांश घरमा बुढाबुढी मात्रै छन् । तर उक्त गाउँको खुशी दशैसंगै फर्किएको छ । अहिले गाउँमा दशैको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुशी भएका छन् । 
दशैँ शुरु भएपछि मैनाकुमारी कार्की जस्तै बुढाबुढीको खुशी फर्केको छ । दशैं आएपछि घर लिप पोत गरेर चिटिक्क बनाइको छ भने परिवार दशैं मान्न घरमा आउने क्रम जारी रहेको छ । 
“जागिर, व्यवसाय तथा अध्ययनका कारण म बाहेक घरमा कोही छैन, कोही विदेश गएका छन् भने केही बागलुङ सदरमुकाममा छन्” मैनाले भनिन्, “तर दशैं तिहार आएपछि विदेश गएका समेत आए भने बजारमा बस्दै आएका छोरा नाती सबै आउदा मनमा दसैं आएको आभाष भएको छ, एक्लै बस्दा न्यास्रो लाग्ने मलाई दशैंले गर्दा खुशी फर्किएको छ ।”
यस्तै हर्कबहादुर जिसीले दशैंमा कोसेलीका रुपमा बारीमा पसाएका दुई घारी केरा पकाउनलाई राखेका छन् । उनले गाउँमा दशंै आएका परिवारलाई खुवाउनका लागि केरा पकाउन राखेको बताए  । गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिङ्गे पिङ र चर्खे पिङ देखिनै छाडेको भएपनि गाउँ फर्कर्नेको संख्यामा बृद्धि भएको छ । 
झार उम्रेका घर आगन समेत सरसफाइ गरेर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाई गरिएको छ । “दशंैमा छोरा नाती आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिप पोत गरेर चिटिक्क छ” उनले भने, “एक वर्ष सम्म बुढाबुढी मात्रै बस्दै वित्छ दशै तिहारमा त छोरा बुहारी र नातनातीना संग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दशैं ।” 
बसाइसराइले बन्द रहेको घरमा समेत अहिले दशैं मनाउन फर्केकाले सरसफाइ गरेर चिटिक्क बनाएका छन् । अघि पछि गाउँको खुशी नै लुटिएपनि दशैं आउदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताए । उनले बढ्दो शहरीकरणका कारण र बसाइ सराइका कारण गाउँहरू बिस्तारै उजाडिदै गएको बताए । 
“अघिपछि गाउँ शून्य हुन्छ, मर्दा पर्दा समेत समस्या छ, तर दशैं आएपछि गाउँ मात्रै भरिदैन गाउँको खुशी नै फर्कन्छ” उनले भने, “गाउँ भरिभराउ हुन्छ, एक वर्षमा भएपनि दशैंको टीका गाउँमै लगाउने जनाउँदै बजारमा घर भएकाहरू समेत गाउँ फर्कन्छन्, अघि पछि शून्य गाउँ दशैं आएपछि चहल पहल हुन्छ ।” 
उनका अनुसार गाउँमा मानिसको भीडभाड र परिवारका सबै मानिस जम्मा भएपछि हुँने रमाइलोले दशैंको महत्वलाई झल्काउने गरेको छ । 
नेपालीको मुख्य चाडपर्वका रुपमा रहेको दशैं, शुभदीपावली, छठ तथा नेपालसम्बत् मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि बागलुङ बजारमा चहल पहल छाएको व्यपारीले बताएका छन् । गाउँ जाने यातयातका साधनहरूले धमाधम गाउँमा यात्रु ओसारीरहेका छन् । 
दशैंमा घर रातोमाटो, पहेँलोमाटो र कमेरोले लिप पोत गर्ने, विग्रे भत्केको मर्मत गर्ने, आगन तथा बाटो घाटो सरसफाइ गर्ने प्रचलनले दशंैमा खोसिएको गाउँको खुशी फर्कन्छ । 

नेटुवा समुदायलाई छैन दशैँको रौनक
वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन् नेटुवा समुदायका एक दर्जन बढी फुसका घर । 
यी नेटुवा जाति दशकौँदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा सो समुदायको बसोबास छ । नेपाली हिन्दूहरूको महान् पर्व वडादशैँको चहलपहल चारैतिर बढिरहँदा सो समुदायमा भने दशैँको उल्लास छैन । 
मधेसी समुदायको दलित जातिको रुपमा परिचित नेटुवाले विजयादशमी पर्व सुनेका छन् तर, अझै मनाएका भने छैनन् । सो समुदायमा वडादशैँको टीका नलगाए पनि नवदुर्गाभर हर्षौल्लास छाउने गरेको छ । सो समुदायमा भने चाडपर्वले रौनकले छुन सकेको छैन ।
उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादशँै आफूहरूका लागि कुनै रौनकको पर्व नभएको बताउँछन् । सधैँ एक छाक कसरी खाने भन्ने पिरलोमा रहनुभएका उनी भन्छन्, “एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशैँ आउनु ।” 
दशैँ कसरी मनाउने भन्ने गुनासोभन्दा बढी गुनासो राज्यसामु उनको छ । उनी भन्छन्, “हामीहरू राज्यबाटै सबैभन्दा बढी अपहेलित भएका छौँ ।” सरकारसँग अल्पसङ्ख्यक जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो उनी भन्छन्, “राज्यले अझै सुनेको छैन ।” 
यही माग लिएर तीन पटक सिंहदरबार धाएको उनले सुनाए । हातमा नागरिकताको प्रमाणपत्र बोकेर गृहमन्त्रालयको दैलो ढकढकाउन अधिकारको लागि पुगेका उनी बताउँछन् । 
पैतालीस वर्षीय दिलीप नेटुवाले राज्यले आफूहरूलाई अल्पसङ्ख्यक जातिको सूचिमा राखेर केही सहयोग गरे धेरै चाड खुसीमा बित्ने सुनाए । न गाँस, न बाँस, न जग्गा जमिन उनले भने, “हामी सबैभन्दा पीडित छौँ, राज्यले हाम्रो माग कहिल्यै सुनेन ।”
निरास मुद्रामा उनी भन्छन् “गरिब भएर जिउनुको पीडा राज्यको अहोदामा बस्नेलाई के थाहा ।” 
थर नेटुवा भएको नागरिकता बनाए पनि आफूहरू पथ्थरकट्टाभन्दा तल्लो जाति भएको उनी दाबी गर्छन् । “हामीभन्दा पथ्थरकट्टा उपल्लो जाति हो”, उनी भन्छन्, “हामीले छोएको पानी पनि खाँदैनन् पथ्थरकट्टा ।” 
पथ्थरकट्टालाई राज्यले अल्पसङ्ख्यकको सूचीमा राखेर सरकारी सेवा सुविधा दिएको छ तर हामीलाई दिएन उनी भन्छन्, “सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन्’ उनले प्रश्न गरे, “राज्यले भत्ता दिए दशैँ पर्व राम्रो मानिन्छ ।”
दसँैमा वरिपरिका अरु समुदायले राम्रो लाउने, मिठो खाने गरिरहँदा यहाँका सो समुदायका मानिस भने दिनभरि भिक्षा मागेर पेट पाल्ने योजनामा छन् । पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाले भिक्षा मागेर ज्यान पाल्दै आएका छन् । जिल्लामा झण्डै तीन सयको हारहारीमा नेटुवा जातिको बसोबास रहेको छ ।–रासस 
 

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार