सोसल मिडिया
Contact Us
युनिकोड
दोधारा चाँदनी । सात आठ वर्षअघिसम्म महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा जताततै पिङ देखिन्थे । महेन्द्रनगर बजार क्षेत्रमा आकासमा उडिरहेका रङ्गीबिरङ्गी चङ्गाहरु देख्न पाइन्थ्यो । तर अहिले सहरमा पिङ र चङ्गा उडाएको बिरलै देखिन्छ । उतिबेला महेन्द्रनगरस्थित खुला मञ्च, गोबरियास्थित निङ्लाशैनी मन्दिर र पूर्व पश्चिम राजमार्ग छेउ झलारी, वनसमिति र दैजीमा पिङ खेल्ने र चङ्गा उडाउनेहरुको भीड देखिन्थ्यो । दसैँको घटस्थापनासँगै गाउँगाउँमा पिङ बनाउने र चङ्गा उडाउने प्रतिस्पर्धा हुने गर्दथ्यो । यसले समाजमा रमाइलोसँगसँगै सद्भावसमेत कायम थियो । तर अहिले महेन्द्रनगर सदरमुकामका गाउँमा मात्र होइन, जिल्लाका कुनै पनि गाउँ बस्तीमा पिङ र चङ्गा उडाइरहेको पाइँदैन । पहिलाको जस्तो अहिले दसैँका बेला पिङ हाल्ने र चङ्गा उडाउनेको सङ्ख्या न्यून रहेको कञ्चन समाजका अध्यक्ष धर्मराज जोशीले बर्ताए । “चार÷पाँच वर्षअघिसम्म हामीले पनि पिङ हाल्थ्यौँ, यो केही वर्ष बीचमा रोकियो”, उनले भने, “अहिले त बच्चाहरुले समेत पिङ कस्तो हुन्छ खेल्न पाए हुन्थ्यो भन्न थालेपछि यस वर्ष हामीले पिङ हालेका छौँ ।” उहाँले अहिलेको पुस्ताले पिङका बारेमा समेत जानकारी नहुने भएपछि कञ्चन समाज र भीमदत्त नगरपालिका–६ को सहयोग महेन्द्रनगरस्थित पूर्व पश्चिम राजमार्ग छेउमै पिङ हालेको बताए । उतिबेला महेन्द्रनगर बजारमै पनि धेरै ठाउँमा पिङ खेल्नेको घुइँचो हुने गरेको यहाँका स्थानीयवासी धीरज जोशीले बताए । “हामी आफैँ पनि पिङ खेल्न दुईरतीन ठाउँमा पुग्थ्यौँ”, उनले भने, “अहिले त बिरलै देखिन्छ, उतिबेला चङ्गा उडाउन निकै रमाइलो हुन्थ्यो ।” दसैँको बेला गाउँमा चङ्गा उडाएको, मौलिक स्थानीय गीतसङ्गीत र बाजाहरुको आवाज घन्किएको र पिङ मच्चिएको देखिन छोडेपछि दसैँतिहारलगायतका पर्वहरुको रौनक घट्दै गएको यहाँका स्थानीयवासी बताउँछन् । “देवीदेवताका मन्दिरमा जाने स्थानीय बाजा (दमाहा) बजाउने र पिङ खेलेर रमाइलो गरिन्थ्यो”, स्थानीय परमामनन्द भट्टले भने, “अहिले त मान्छे घरबाहिर निस्किन पनि चाहँदैन, मोबाइल र इन्टरनेटले गर्दा मान्छेलाई सामाजिकभन्दा पनि एक्लो बनाएको छ ।” उनले पुराना परम्पराले समाजमा एकता कायम राख्ने भएकाले पनि यसलाई निरन्तरता दिनुपर्ने बताए । “केही वर्ष अघिसम्म दसैँका जमरा सामूहिकरूपमा मठमन्दिरमा राख्ने चलन थियो”, उनले भने, “अहिले त घरघरमै जमरा राखिन्छ, यसले समाजमा मान्छे एक्लिँदै गएको छ ।” पछिल्लो समय आधुनिकतासँगै चाडपर्वहरु पनि मनाउने चलन फेरिँदै गएको पाका पुस्ता बताउँछन् । “चाडपर्वको बेला हाम्रो परम्परा विपरीत जाँडरक्सी खाने, जुवातास खेल्ने जस्ता कार्य पर्वमा गरिन थाले”, स्थानीय मदन चन्दले भने, “परम्परागत मूल्य मान्यताहरु हराउँदै गएका छन्, यसलाई सबैले जोगाउनुपर्छ ।” अघिल्लो पुस्ताका मानिसहरुका चलन र परम्परालाई नयाँ पुस्ताका युवाहरुले निरन्तरता नदिँदा मौलिक चलनहरु ओझेल पर्दै आएको छ । पाका पुस्ताले पनि अहिलेका नयाँ पुस्तालाई पुराना परम्पराहरु हस्तान्तरण गर्न नसक्नु दुःखद पक्ष रहेको सामाजिक अगुवाहरु बताउँछन् ।