स्याङ्जाकाे वालिङ र बिरूवा गाउँपालिकामा मतदान केन्द्र थप

आइतबार, असोज १६, २०७९

वालिङ । स्याङ्जामा यसअघिका निर्वाचनमा मतदान हुँदै आएका दुई मतदानस्थल सारिएको र  दुई नयाँ केन्द्र थपिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए ।
जिल्लामा कूल एकसय ९९ मतदानस्थलमध्ये वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक÷एक मतदानस्थललाई स्थानान्तरण गरिएको हो । वालिङ नगरपालिका– ८ को बोगटीडाँडामा रहेको मतदानस्थललाई वालिङ ८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैँचामा सारिएको छ। । बिरुवा १ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बिरुवा १ कै नवज्योति माध्यमिक विद्यालयमा सारिएको उनले जानकारी दिए ।
भौगोलिक कठिनाईका कारण अपायक, साँघुरो, पुराना भवनलगायत कारणले राजनीतिक दलहरुको सहमति र नयाँ थपिएका मतदानस्थल अवलोकन गर्दा उपयुक्त भएपछि मतदानस्थल सारिएको हो ।
“यसअघिका निर्वाचनमा एकसय ९९ मतदानस्थलमा तीन सय १८ वटा मतदान केन्द्रमा मतदान हुन्थ्यो” सूचना अधिकारी  गौतमले  भने, “अहिले दुई वटा नयाँ निर्वाचन केन्द्र थप गरी तीन सय २० वटा पुर्‍याइएको छ ।”

एउटा निर्वाचन केन्द्रमा अधिकतम एक हजार ५० जना पुगेपछि दोस्रो निर्वाचन केन्द्र रहने प्रावधान अनुसार मतदाताको संख्या थपिएसँगै केन्द्र पनि थप गरिएको उहाँले जानकारी दिए । दुई वटा नयाँ मतदान केन्द्र वालिङ ४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा नयाँ मतदान केन्द्र थपिएको हो । जेठीकन्यामा एउटा थपिएसँगै दुई वटा मतदान केन्द्र भएको छ भने केदारनाथ मन्दिरमा एउटा थपिएसँगै तीन वटा मतदान केन्द्र पुगेको छ ।
आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि कूल मतदाता दुई लाख ४४ हजार ८९ छन् । तीमध्ये महिला एक लाख २४ हजार साट ७८, पुरुष एक लाख १९ हजार तीन सय १० र अन्य एकजना रहेका उक्त कार्यालयले जनाएको छ ।

काभ्रेमा निर्वाचन तयारी तीव्र
आसन्न आम निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत पनौतीमा र प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत धुलिखेलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले शनिबार निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा क्षेत्र नं २ र त्यसअन्तर्गतका दुई प्रदेशमा निर्वाचनका कामसमेत गर्ने जनाइएको छ ।
निर्वाचन आयोगले भने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न असोज २१ गतेको कार्यतालिका बनाएको थियो । आयोगका अनुसार असोज २३ गते प्रतिनिधिसभा तथा प्रदशसभा क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ भने असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् । एक सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।  काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् ।
कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कुल मतदाता एक लाख ५२ हजार छ सय ९९ रहेका छन् । यहाँ एक सय ९५ वटा मतदान केन्द्रबाट मतदान हुनेछ । सोही क्षेत्रको प्रदेशसभा ९क० मा ४० हजार एक सय एक पुरुष तथा ३६ हजार चार सय ५२ महिला गरी ७६ हजार पाँच सय ५३ मतदाता रहेका छन् । जसमा ९४ वटा मतदान केन्द्र रहेका छन् । प्रदेशसभा (ख) मा भने ३८ हजार सात सय १५ पुरुष र ३७ हजार चार सय ३० महिला गरी ७६ हजार एक सय ४६ मतदाता छन् । यहाँ ९५ वटा मतदान केन्द्र छन् ।
यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ७९ हजार एक सय ७४ पुरुष र ७८ हजार दुई सय ६७ महिला गरी एक लाख ५७ हजार चार सय ४२ मतदाता रहेका छन् । उक्त क्षेत्रमा दुई सय मतदान केन्द्र रहेका छन् । सोही क्षेत्रको प्रदेशसभा (क) मा ३९ हजार दुई सय ५८ पुरुष, ३७ हजार आठ सय ५० महिला तथा अन्य एक गरी ७७ हजार एक सय नौ मतदाता रहेका छन् । प्रदेशसभा (ख) मा भने ३९ हजार नौ सय १६ पुरुष तथा ४० हजार चार सय १७ महिला गरी ८० हजार तीन सय ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार