राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिले गर्ने, राष्ट्रपतिलाई निमन्त्रणा

मंगलबार, असोज ११, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद–२०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र आज प्रदान गरिएको छ ।
राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले शीतल निवासमा निमन्त्रणापत्र प्रदान गरेका हुन् ।सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टङ्कलाल घिसिङ र सदस्य दीपेन्द्र विष्ट उपस्थित थिए ।
पोखरा रङ्गशालामा असोज २८ गते हुने नवौँ राष्ट्रिय खेलकुदको राष्ट्रपति भण्डारीबाट समुद्घाटन हुने कार्यक्रमअनुसार निमन्त्रणा गरिएको हो । त्यसअवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुदका विषयमा हालसम्म भएका कार्य प्रगतिकाबारेमा पनि जानकारी गराइएको थियो ।

खेलाडीको बीमा

राखेप नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी नौ हजार जनाको बीमा गरिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच आज सम्झौता भएको छ ।राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शङ्कर अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
बीमित खेलाडीको सङ्ख्या छ हजार रहेको छ भने बाँकी तीन हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जानकारी दिनुभयो ।बीमाको अवधि एक महिना रहेको छ । प्रत्येकको रु १० लाख बराबरको बीमा गरिएको हो ।

कर्णाली प्रदेशले खेलाडीलाई पुस्कारको दिने घोषणा

अरूले खेलाडीहरुले खेल जितिसकेपछि मात्रै पुरस्कार दिने तर कर्णाली प्रदेशले भने जित्नुभन्दा अगाडि नै पुरस्कारको व्यवस्था गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।
गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को ट्रफी अनावरण कार्यक्रममा उहाँले हिजोका दिनमा कर्णालीलाई हरेक क्षेत्रमा विकट भनी प्रचार गरिए पनि खेल क्षेत्रमा कर्णाली अगाडि रहेको बताए ।
उनले कर्णालीले खेल क्षेत्रमा धेरै सम्भावना बोकेका कारण कर्णाली प्रदेश सरकारले पनि खेल क्षेत्रमा ठूलो लगानी गरेको भन्दै आज कर्णाली प्रदेशको आँगनमा पुगेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को ट्रफी कर्णालीमा भित्र्याउने गरी खेलाडीहरुलाई तयारी गर्न निर्देशन दिए ।
“खेलाडीहरुका लागि कर्णाली प्रदेश सरकारसँगै छ, तपाइँहरु यो आज आँगनमा आएको ट्रफी कर्णालीमा फिर्ता ल्याउने गरी तयारी थाल्नुहोस्”, मुख्यमन्त्रीशाहीले भने ।
ट्रफी टुरका संयोजक ओलम्पियन दीपक विष्टले अन्य प्रदेशभन्दा कर्णाली प्रदेश सरकारले खेल क्षेत्रलाई महत्व दिएको भन्दै कर्णालीको खेल क्षेत्रमा ठूलो सम्भावना रहेको बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले कर्णाली प्रदेशमा पुगेको नवौँ राष्ट्रिय खेलकुदप्रतियोगिताको ट्रफी चुम्नका लागि कर्णाली प्रदेशका खेलाडीहरु तयारी अवस्थामा रहेको भन्दै आज कर्णाली प्रदेशमा आइपुगेका ट्रफी कर्णालीमा नै फिर्ता आउनेमा आफू विश्वस्त रहेको बताए ।
कर्णाली प्रदेश सरकार खेल क्षेत्रका समस्या समाधान गर्नका लागि जहिले तयार रहेको भन्दै सदस्यसचिव सञ्ज्यालले खेलाडीहरुलाई कुनै पनि चिजको कमी हुन नदिने गरी कर्णाली प्रदेश खेलकुद विकास परिषद् लागिरहेको बताए ।
कार्यक्रममा कर्णालीप्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्री, राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को रनिङ ट्रफी टुरका संयोजक विष्टसहित अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्षसमेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, अल्ट्रा म्याराथन धावक मीरा राईलगायत सहभागी भएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  २२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार