सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारी साधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ । कार्यालयले आज एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फुलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ । प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ । अवस्था ठीक नभएका गाडीमाथि कारबाही यता भक्तपुरको जगातीमा विशेष यान्त्रिक जाँचका क्रममा अवस्था ठीक नभएका विङ्गर, हाइस र टाटासुमोलगायतका २७ भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नाका साथै १२ गाडीलाई नियन्त्रणमा लिएको छ । तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा आज गरिएको जाँचका क्रममा ह्यान्ड ब्रेक नभएका, लाइट नभएका, टायर धेरै खिइएका गाडीका चालकलाई कारबाही गरिएको हो । नियन्त्रणमा लिएका १२ सवारी साधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने जनाइएको छ । अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था जाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।
चाडपर्व लक्षित गरी सवारीसाधनमा जाँच कडा गरिने
चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गर्ने भएको छ । दसैँका लागि सोमबार घटस्थापनादेखि धेरै सङ्ख्यामा यात्रु बाहिरिने र सरकारले यात्रुबाहक सवारीसाधनलाई जतासुकै चल्न रुट अनुमति आवश्यक नपर्ने हुँदा जाँच बढाइएको कार्यालयले जनाएको छ । सवारीसाधनलाई छतमा यात्रा गर्न नदिने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको छ छैन जाँच गर्ने र सवारीसाधनको अवस्था जाँच गरिने कार्यालयका प्रवक्ता राजेन्द्र भट्टले बताए । उनले भने, “सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि नाकामा जाँच बढाउन लागिएको छ ।”
उपत्यकाबाट बाहिरिने मात्रै नभई उपत्यकाभित्रै चल्ने सवारीसाधनलाई लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ । उपत्यकामा पनि दसैँमा धेरै सवारीसाधन बाहिरिएर सडक खुकुलो हुँदा चालकले बढी गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दुर्घटनाको सम्भावना बढी हुँदा यो समयमा थप जाँच गर्न लागिएको छ । चाडपर्वका समयमा एकै पटक धेरै सवारीसाधन बाहिरिने हुँदा दुर्घटनाको जोखिम रहेको छ । कार्यालयले उपत्यकामा सवारीसाधन व्यवस्थापन गर्ने र उपत्यकाबाहिर प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गर्छ । प्रवक्ता भट्टले भने, “चाडपर्वको समयमा अरु समयभन्दा बढी जनशक्ति घटाएर सवारी जाम हुन नदिन र दुर्घटना हुन नदिन लाग्ने गरिएको छ ।” यात्रुको गुनासो सम्बोधनका लागि विभाग, व्यवसायी र ट्राफिक प्रहरी सम्मिलित यात्रु सहायकता कक्षको स्थापना गरिएको छ । त्यो सम्बोधन नहुँदा १०० र १०३ मा पनि सम्पर्क गरेर गुनासो राख्न सकिने उनले बताए ।