दशैंंको मुखमा खानेपानी वितरणमा अवरोध गर्न केयूकेएलका सिईओको कार्यकक्षमा फेरि तालाबन्दी

आइतबार, असोज ९, २०७९

काठमाडौं  । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यको कार्यकक्षमा फेरि तालाबन्दी गरिएको छ । केयूकेएलमा क्रियाशील दुई ट्रेड युनियनले शुक्रबार सिईओको कार्यकक्षबाट ब्यानर झिकेको निहुँमा तालाबन्दी गरेका हुन् ।  केयूकेएल कर्मचारी संगठनले समय र परिस्थितिको गम्भीरतालाई ख्यालै नगरी मानिसको जन्मदेखि मृत्यु संस्कारसँग गाँसिएको खानेपानी जस्तो अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको कम्पनीको प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिनु दुःखद भन्दै अविलम्ब संवाद र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।संगठनका अध्यक्ष नवलसिंह साउद र महासचिव कर्णबहादुर धनाहमगरले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरूको महान चाड बडादशैं २०७९ सन्निकट रहेको र बडादशैंको सार्वजनिक बिदामा समेत निर्वाध रूपमा खानेपानी उत्पादन, प्रशोधन र वितरण गर्नु सबै ट्रेड युनियनकर्मी र कर्मचारीको कर्तव्य र जिम्मेवारी हो । नेपाल सरकारको अत्यावश्यकीय वस्तु र सेवामा बन्द, हडताल र तालाबन्दी गर्न नपाउने भनी जारी गरेको आदेशपालना गर्दै आमउपभोक्ता वर्गलाई निर्वाध रूपमा खानेपानी सेवा प्रवाह गर्नु कम्पनीको घोषित लक्ष्य र उद्देश्य हो ।’

तर, केयूकेएलमा क्रियाशील कर्मचारी संघ, कर्मचारी कल्याण परिषद् र लोकतान्त्रिक कर्मचारी संघले भने बिहीबारका दिन आन्दोलनरत पक्षसँग कुनै सहमति वेगर व्यवस्थापन पक्षले अप्रत्यासित रूपमा तुल ब्यानर निकालेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । उनीहरूले आफ्ना माग सम्बोधन नभए २ असोजदेखि नै केन्द्रीय कार्यालयदेखि शाखा कार्यालयहरूको सेवा ठप्प पार्ने जानकारी गराएकोमा त्यसको बेवास्ता गरी व्यवस्थापन पक्षले आफूखुसी ब्यानर निकालेकाले विरोध गर्नुपरेको उल्लेख गरेका छन् ।तर, शुक्रबारको निर्णयविपरीत प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा गठबन्धन ट्रेड युनियनमध्येबाट ताला लगाउने कार्य भएको भन्दै तीन संगठनले आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार