सत्यमोहन जोशीलाई डेंगु संक्रमण

शुक्रबार, असोज ७, २०७९

काठमाडौं ।  शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए पछि उनलाई शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको छ ।

चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा डेंगु  संक्रमण पुष्टि भएको हो । अहिले उनको अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ ।

जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको छ ।

सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका छन् । आज ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद् भवनको अवलोकन गरे । परिषद्को भवनमा जोशीले सङ्कलन गर्नुभएका मुद्रा, टिकट, किताबलगायत सामग्री राखिएको छ । साथै उहाँले भवनको तेस्रो तलामा रहेको ‘चक्रसंवर’ को पौभाः चित्र समेत अवलोकन गरी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएका थिए । विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका जोशी उमेरले एक  सय तीन वर्ष पुगिसकेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार