सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षा विषयमा छलफल

शुक्रबार, असोज ७, २०७९

काठमाडौँ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ का सम्बन्धमा सैनिक मुख्यालय जङ्गी अड्डामा मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ ।
उनीहरुबीच समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाका बारेमा छलफल र अन्तक्र्रिया भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारीरुपमा कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको  थियो ।

खर्च विवरण नबुझाउनेलाई जरिवाना

समय अवधिभित्र निर्वाचनको खर्च विवरण नबुझाउने आठ सय ३१ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।
आयोगले दैलेखका चार नगरपालिकाका १८ जना प्रमुख÷उपप्रमुखका उम्मेदवारलाई जनही रु चार लाख ५० हजार, सात गाउँपालिकाका २३ जना अध्यक्ष÷उपाध्यक्षका उम्मेदवारलाई जनही रु तीन लाख ५० हजार जरिवाना तोकेको छ ।
आयोगका अनुसार नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यलाई जनही रु दुई लाख जरिवाना तोकेको छ । जरिवानामा पर्ने नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य छन् । आठबिसका एक सय ३९, चामुण्डाविन्द्रासैनीका एक सय २२, दुल्लुका ७४ र नारायण नगरपालिकाका एक सय २० जना छन् ।
जरिवानामा पर्ने गाउँपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमध्ये गुराँसका २३, ठाटीकाँधका २५, डुङ्गेश्वरका ५३, नौमूलेका ६७, भगवतीमाईका ४०, भैरवीका ४१, महाबुका ८६ जना उम्मेदवार छन् । जरिवानामा पर्नेमा अधिकांश निर्वाचित जनप्रतिनिधि छन् ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  ०५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार