कोभिड फाइजर खोप स्वीकृत गर्ने बेलायत विश्वकै पहिलो देश

बुधबार, मंसिर १७, २०७७

लण्डन । बेलायत फाइजरर बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन सुरु गर्न सकिन्छ । खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट सुरु हुने अपेक्षा गरिएको छ । यूकेले सो खोपको चार करोड मात्रा किनिसकेको छ जुन दुई करोड मानिसलाई पर्याप्त हुनेछ । तीमध्ये एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बताइएको छ । खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ । दश महिनाको अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो । कतिपय खोपका लागि यो अवधि एक दशकभन्दा लामो भएका थिए । 
यूकेका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले ‘सहयोग आउँदै छ’ भनेर ट्वीट गरेका छन् । एनएचएसका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले यूकेको स्वास्थ्य सेवाले देशको इतिहासमै सबैभन्दा बृहत् खोप कार्यक्रमको तैयारी गरिरहेको बताएका छन् । खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तैयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ । विज्ञहरूले खोप सुरु भएपछि पनि मानिसहरू सतर्क हुनुपर्ने र स्वास्थ्य सावधानीहरू अपनाउनु पर्ने बताएका छन् ।
यो कस्तो खोप हो ?
यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रक्रिया अपनाएको छ जुन प्रक्रियामा मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरीरमा प्रवेश गराउने विधि संलग्न छ ।
पहिलेका परिक्षणहरूले उक्त खोपले शरीरलाई कोरोनभाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि–सेल भनिने शरीरको रोध प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए । तीन साताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ । अमेरिका, जर्मनी, ब्रजिल, आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो । औषधी निर्माण कम्पनी फाइजरको विश्वासमा उस्ले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ । सन् २०२१ को अन्त्य सम्ममा उक्त कम्पनीले १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने सो कम्पनीले बताएको छ ।
फाइजर र बायोएनटेकले विकास गरेका खोपलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।
कोरोना खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ । सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो ।
दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ ।
बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई कम्तीमा आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको जनाइएको छ ।–एजेन्सी 
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार