सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमाले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिध र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको हो ।
नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको उनले जानकारी दिए । ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला हुने उनले जानकारी दिए ।
गुरुङका अनुसार प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना, मधेश प्रदेशमा २३ जना महिला नघट्ने गरि ४३ जना, बागमती महिला २४ जना नघट्ने गरि ४४ जना, गण्डकीमा १३ महिला नघट्ने गरि २४ जना, लुम्बिनीमा २० महिला नघट्ने गरि ३५ जना
कर्णालीमा ८ महिला नघट्ने गरि १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरि २१ जनाको नाम तयार गरिएको उनले जानकारी दिए । सोमबार एमालेले बन्दी सूची आयोगमा बुझाउने उनले जानकारी दिए । प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आयोगले आज र भोलिका लागि समय निर्धारण गरेको थियो ।
अन्य पार्टीबाट आएकालाई एमालेमा समानुपातिक मापदण्ड लचिलो
नेकपा एमालेले अन्य पार्टीबाट आएकालाई समानुपातिक उम्मेदवार बनाउन मापदण्ड लचिलो बनाएको छ ।
आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको नेकपा एमालेको सचिवालय बैठकले अन्य दलबाट पार्टीमा प्रवेश गरेकालाई समानुपातिकमा राख्ने मापदण्ड खुकुलो गरेको हो ।
एमाले उपमहासचिव समेत रहेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पार्टीले समानुपातिकमा राख्ने मापदण्ड अन्य दलका लागि लचिलो व्यवस्था गरिएको बताए ।
संविधान सभा र २०७४ को निर्वाचनमा समानुपातिकमा रहेर प्रतिनिधित्व गरिसकेकालाई यसपटक समावेश नगरिएको उनले बताए ।
'पहिलो संविधान सभादेखि दोस्रो संविधान सभा र २०७४ को निर्वाचनमा समानुपातिक भएर प्रतिनिधित्व गरिसकेका महिला वा पुरुषलाई यसपटक समावेश गरेका छैनौँ । दोस्रो, विगतको निर्वाचनमा उम्मेदवार भएर पराजित भएकाहरु, जित्ने जितिहाल्यो, तिनीहरुलाई पनि यो लिस्टमा समावेश गरेका छैनौँ। २०७४ को निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उपप्रमुख भएर निर्वाचित भएकाहरुलाई पनि यसपटक यो सूचीमा समावेश गरेका छैनौँ', उनले भने ।
तर अन्य दलबाट आएकाको हकमा भने लचिलो व्यवस्था गरिएको उनले बताए । 'अरु विभिन्न पार्टीबाट आएका नयाँको हकमा भने यो मापदण्डलाई छोडेर अलिकति लचिलो भएर निर्णय गरेका छौँ', उनले भने ।