समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु

आइतबार, असोज २, २०७९
Global Ime Bank

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ ।
सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो । उक्त सूची बुझाउन असोज २ र ३ गतेका लागि आयोगले समय निर्धारण गरेकाले आज पहिलो दिन ठूला दलबाहेक केही दलबाट मात्रै बुझाउने क्रम सुरु भएको छ । 
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा, प्रदेशसभाका लागि सूची बुझाउन आठ स्थल र १० कक्ष व्यवस्था गरी तम्तयारी अवस्थामा आयोग रहेको बताए ।
आयोगले सो प्रणालीका लागि सचिव गोकर्णमणि दुवाडीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल यही असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट भएपछि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल समाप्त भएको छ ।

माओवादी केन्द्रले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने
नेकपा (माओवादी केन्द्र) को आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । 
सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ । सङ्घीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिश भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्नका लागि केही छलफल गर्नुपर्ने भएकाले थप समय लागेको बताइएको छ । 
निर्वाचन आयोगले आज र भोलिसम्म समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ । माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बिहान बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्नेछ । जिल्ला र प्रदेशबाट आएका नाममाथि मसिनो गरी  छलफल गरेर आवश्यक निर्णय गरिने माओवादीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार