भिक्टर प्रधानकाे ‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारमा

आइतबार, असोज २, २०७९

काठमाडाैं,  ।   बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्धबारे अनेक कृति लेखिएका छन् । यही मेसोमा भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ वी रिडले हालै बजारमा ल्याएको छ ।उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको छ ।उपन्यासमा बुद्ध झल्याकझुलुक देखापर्छन् तर यो बुद्धको जीवनी होइन । उनको वंश शाक्यहरूको विनाशको कथालाई प्रधानले आफ्नै शैलीमा लेखेका छन् । दासीपुत्रीलाई कपिलवस्तुका राजाले शाक्यपुत्री भनेर झुक्याएर कोशल राजा प्रसेनजितसँग विवाह गराएको र त्यो षड्यन्त्र राजकुमार बिडुडवले थाहा पाएपछिको घटनाक्रमलाई उपन्यासकारले रोचक तरिकाले प्रस्तुत गरेका छन् । 

कपिलवस्तुको पतनपछि बाँकी रहेका शाक्यहरू कहाँ कहाँ पुगे ? के बिडुडभले कोशलको साम्राज्य कायमै राख्न सके ? आफ्नो वंशमाथि बिडुडभले आक्रमण गर्दै छन् भन्ने थाहा पाएका बुद्धले किन रोक्न सकेनन् युद्ध ? कुनै दिन कपिलवस्तु राज्य सिद्धिन्छ भन्ने लागेरै बुद्धले राजपाठ त्यागेका थिए त ? यस्ता अनेकौं प्रश्नमाथि उपन्यासले नयाँ कोणबाट बहस सिर्जना गरेको छ । इतिहासप्रति चाख राख्नेहरूका लागि उपन्यास थप महत्वपूर्ण बन्न सक्छ ।

 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार