गैरसरकारी सङ्घसंस्थाले सूचना लुकाएको आरोप

शनिबार, असोज १, २०७९

सिन्धुली ।  कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले गैरसरकारी सङ्घसंस्थामा आर्थिक पादर्शीता नभएको बताएका छन् ।
राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रियामा उनले  सेवामूलक संस्थाका सञ्चालक नाफामुखी भएका धारणा राखे ।
“गैरसरकारी सङ्घसंस्थाले सामाजिक काममा आएको पैसा कुन–कुन काममा कति–कति खर्च गरे भन्ने कुराको  जानकारी नै दिइँदैन, सूचना लकाइन्छ”, नगरप्रमुख पोखरेलले  भने ।
गरिबको भत्किएका घरको नाउँमा र च्यातिएका लुगाको नाउँमा करोडौँ रकम असुल्ने काम भइरहेको आरोप लगाउँदै उनले कीर्ते कागजात बनाएर अपारदर्शी काम गर्ने सङ्घसंस्थालाई राज्यले कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए  ।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले कानुन सबैलाई बराबर हुने बताउँदै गैरसरकारी सङ्घसंस्थाले सूचना लुकाउन नमिल्ने र सबै सङ्घसंस्थामा पनि सूचना अधिकारी तोकिनुपर्नेमा जोड दिँदै  सूचना लुकाउने र सूचनाको दुरुपयोग गर्नेलाई कानुनबमोजिम सजाय हुने बताए ।
उक्त आयोगका आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सूचना हकका अभियन्ताको सहभागिता थियो ।

 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  ०९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार