नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा, फाइनल खेल सोमबार बङ्गलादेशसँग खेल्ने

शुक्रबार, भदौ ३१, २०७९
Global Ime Bank

काठमाडौँ ।  नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघिका पाँचवटै संस्करणको विजेता भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केही बेर अघि सम्पन्न सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गरेको हो । नेपालले महिला साफ च्याम्पियनसिपमा पहिलो पटक भारतलाई पराजित गरेको हो । मध्यान्तर अघिको खेलमा गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो । पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् । मध्यान्तरपछिको खेलमा नेपाल र भारतका तर्फबाट गोल गर्ने प्रयास भएका थिए । दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा नेपाल फाइनलमा पुग्न सफल भयो ।
नेपाली टोलीको कप्तानी एन्जिला तुम्बाप्पो सुब्बाले गरेकी थिइन् । नेपाली टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ डेङ्गुका कारण खेल्न सकिनन् ।  
नेपालले फाइनल खेल सोमबार बङ्गलादेशसँग खेल्ने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । बङ्गलादेशको जितमा सविना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।
बङ्गलादेशले खेल सुरुआती दोस्रो मिनेटमा मोसाम्मतको गोलबाट सुरुआती अग्रता बनायो । खेलको १८ औँ मिनेटमा सविनाले गोल गर्दै बङ्गलादेशको अग्रता २–० को बनाइन् । त्यसपछि खेलको ३० औँ मिनेटमा श्रीमोतीले गोल गर्दा बङ्गलादेशको अग्रता तेब्बर बन्यो भने खेलको ३५ औँ मिनेटमा रितुले गोल गरेपछि पहिलो हाफमा बङ्गलादेश ४–० ले अघि रह्यो ।
त्यसैगरी खेलको दोस्रो हाफमा बङ्गलादेशले थप चार गोल ग¥यो । खेलको ५४ औँ मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५–० को बनाइन् । खेलको ५७ औँ मिनेटमा मसुराले गोल गर्दा बङ्गलादेश ६–० ले अघि रह्यो । खेलको ८७ औँ मिनेटमा तोहोराले गोल गरेपछि बङ्गलादेश ७–० ले अघि रह्यो । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सविनाले ह्याट्रिक पूरा गर्दै बङ्गलादेशलाई ८–० को जित दिलाइन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार