सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतले माल्दिभ्सालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो जीत हो । भारतले यसअघि भएको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । सोही समूहबाट बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ । यस समूहबाट माल्दिभ्स र पाकिस्तान भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् । भारतको जीतमा अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । डाङमेई ग्रेसले थप दुई गोल गरिन् भने प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल थपे । खेलको २४औँ मिनेटमा अन्जुले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाइन । खेलको ४२ औँ मिनेटमा प्रियंकाले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् । यसैगरी खेलको पहिलो हाफको अतिरिक्त समयमा अन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन् ।
खेलको ५३ औँ मिनेटमा ग्रेसले गोल गर्दा भारतले ४–० को अग्रता बनायो । खेलको ५५ औँ मिनेटमा सौम्याले गोल गर्दै भारतलाई ५–० को अग्रता दिलाइन् । खेलको ८४ औँ मिनेटमा काश्मिनाले गोल गर्दा भारतको अग्रता ६–० को बन्यो । खेलको ८५ औँ मिनेटमा अन्जुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । खेलको ८७ औँ मिनेटमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ८–० को अग्रता दिलाइन् । त्यसपछि खेलको ८८औँ मिनेटमा अन्जुले व्यक्तिगत चौँथो गोल गर्दै भारतलाई ९–० को जीत दिलाइन् । अब समूह चरणको अन्तिम खेलमा भारत र बङ्गलादेश भिड्ने छन् । सोही खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
बङ्गलादेशले पाकिस्तानलाई हरायो राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाइन् ।
त्यस्तै खेलको २८ औं मिनेटमा शोप्नाले गोल गर्दा बङ्गलादेश २–० ले अघि रह्यो । त्यसपछि खेलको ३१ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाइन । यसैगरी खेलको ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बङ्गलादेश ४–० ले अघि रह्यो । खेलको ५९ औं मिनेटमा सबिनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि खेलको ७७ औं मिनेटमा रितुले गोल गर्दै बङ्गलादेशलाई ६–० को जित दिलाइन् । बङ्गलादेशको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० ले हराएको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३–० गोलको हार व्यहोरेको थियो । यस जितसँगै समूह ‘ए’ मा रहेको बङ्गलादेशले ६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तान दुई खेलमा अङ्क विहीन रहँदै पुछारमा रहेको छ । प्रतियोगिताअन्तर्गत नै दोस्रो खेलमा समूह बी मा नै रहेको भारत माल्दिभ्ससँग ८० को गोल अन्तरले विजयी भएको छ ।
चितवन गोल्डकप आजदेखि सुरु
यता भरतपुरमा चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल सुरु भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा भरतपुरको क्याम्पाचौरमा सुरु प्रतियोगिताको बागमती प्रदेशका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर फुटबल क्लबले भारतको मोतिहारी एफसीलाई ९–० को फराकिलो अन्तरले पराजित ग¥यो । बिएफसीको जीतमा राज भुसालले दोस्रो ह्याट्रिक गरे भने रञ्जित आले मगरले २ तथा रोशन क्षेत्रीले एक गोल गरे । एकतर्फी खेलको १६औँ मिनेटमा रञ्जितको गोलमा बिएफसीले अग्रता लियो । वान भर्सेस वानमा उनले मोतिहारीका गोलरक्षक मोहम्मद आयानलाई बिट गर्दै सुन्दर गोल गरे । २८औँ मिनेटमा राजले बिएफसीको अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा रञ्जितले व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले ३–० को अग्रता लियो । ३८औँ मिनेटमा राजले बिएफसीका लागि चौथो गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा राजले ह्याट्रिक पूरा गरेपछि बिएफसीले ५–० को अग्रता लियो । दोस्रो हाफको दोस्रो मिनेटमा राजले व्यक्तिगत चौथो गोल गर्दै बिएफसीको अग्रता लम्बाए । दोस्रो हाफको १७औँ मिनेटमा राजको गोलमा बिएससीले ७–० को अग्रता बनायो । २३औँ मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै बिएफसीको अग्रता ८–० मा पु¥याए । दोस्रो हाफको २५औँ मिनेटमा राजले दोहोरो ह्याट्रिक गरेपछि बिएफसी ९–० ले विजयी भयो । बिएफसीका राज म्यान अफ दि म्याच चुनिए । उनले नगद रु १० हजार प्राप्त गरे । गोल्डकपमा भोलि नव जनजागृति युवा क्लब सिमरा र मकवानपुर ११ भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी भएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले रु तीन लाख ५० हजार प्राप्त गर्ने छन् ।