जोखिम पहिचान गरी सहयोगका लागि तत्पर भए रोक्न सकिन्छ आत्महत्या

आत्महत्या रोकथाम दिवस
शनिबार, भदौ २५, २०७९

काठमाडौँ ।  नेपालसहित विश्वभरि नै ‘आशा जगाऔँ, जीवन बचाऔँ,’ भन्ने नाराका साथ आज विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । नेपालले पनि आत्महत्या रोकथाम र नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो ।
नेपालमा आत्महत्याका कारणले दैनिक १९-२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ । नेपालमा आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । त्यसले आत्महत्या रोकथामका लागि थोरै प्रयास गरेको पाइन्छ ।
सरकारको एक्लो प्रयासले मात्र नभई सबैको सहयोगले रोकथाम गर्न सकिने बताइएको छ । सर्वप्रथम आत्महत्या रोकथामका लागि जोखिम वर्गको पहिचान गरी प्रारम्भिक लक्षण पत्ता लगाइ सहयोगका लागि तत्पर हुनुपर्दछ ।
आत्महत्यासम्बन्धी सोच वा विचार भएकाका कुरा र समस्यालाई सुन्ने गर्नुपर्दछ, त्यस्ता व्यक्तिका कुरा सहानुभूति सुनिदिने र आफूले परामर्श गर्ने जस्ता कार्यले आत्महत्या रोकथाममा ठूलो सहयोग पुग्छ । त्यस्ता व्यक्तिलाई भावनात्मक सहयोग गर्ने, परिवारजन र मित्रलाई सम्पर्क गर्ने, यदि धेरै जोखिम छ भने कहिल्यै एक्लो नछोड्ने र मनोचिकित्सक, मनोविद्, परामर्शकर्ता कहाँ पठाउने गर्नुपर्दछ ।
मानसिक अस्पताल वरिष्ठ मनोचिकत्सक डा वासुदेव कार्कीले विश्व स्वास्थ्य सङ्गठनले तय गरेका चार वटा रणनीतिलाई कार्यान्वयन गर्ने हो भने आत्महत्या रोकथाम नियन्त्रण गर्न सकिने भनाइ राखे । उनका अनुसार पहिलो हुर्कंदै गइरहेका बालबालिकालाई मानसिक स्वास्थ्यमा लचकता, दोस्रो आत्महत्याका लागि उपयुक्त हुने साधानको नियन्त्रण, निगरानी र न्यूनीकरण तेस्रो मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच र चौथो आम सञ्चारमाध्यमले उत्तरदायी भएर आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण रहेका छन् ।
कार्की चार वटा रणनीतिमा काम गर्न सक्यौँ भने नेपालमा आत्महत्याको विचार भावना भएका अवस्थालाई सुकै कठिन अवस्थामा पनि आत्महत्या जस्तो सोचलाई प्रसय नपाउने बताउँछन् । “अठार वर्ष अगाडिका बालबालिकालाई सजिलै आफूमा आइपरेको समस्यालाई समाधान गर्न सिकाइयो भने भोलिका दिनमा सामाजिक र आर्थिक अवस्थालाई सहज पार लगाउन उनीहरु सक्छन्”, उनले भने ।
आत्महत्याको भावना भएकालाई समयमा नै सही परामर्श, सही उपचार सही सामाजिक आडभरोसा दिन सकेका खण्डमा आत्महत्या रोकिने कार्कीको भनाइ छ । ९० प्रतिशत मानसिक समस्याका कारणले आत्महत्या गर्ने गर्दछन् । उहाँले आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरुलाई निरन्तर निगरानीमा राख्दै उचित मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अघिल्लो आवभन्दा गत आवमा घट्यो आत्महत्या
अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या घटेको पाइएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले अघिल्लो आव २०७७-७८ को तुलनामा गत आवमा २०७८-७९ मा भने आत्महत्याबाट ज्यान गुमाउनेको सङख्या ४.३५ प्रतिशतले घटेको बताए ।
उनले सरकारले आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या घटेको हुनसक्ने बताए । सरकारले ४४ जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । उनले उक्त कार्यक्रम आगामी दुई वर्षभित्र ७७ वटै जिल्लामा सञ्चालन गर्ने जानकारी दिए ।
आत्महत्या रोकथाम तथा नियन्त्रणमा सरकार पनि गम्भीर भएर लागेर विभिन्न कार्यक्रम सञ्चालन गरेको हुनाले आत्महत्याबाट ज्यान गुमाउने सङ्ख्यामा कमी आएको बताए । “हामीले आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम तल्लो तहसम्म सञ्चालन गरेको छौँ”, उनले भने, “सोही कार्यक्रमको प्रभावले गर्दा आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या घटेको हुनसक्छ ।”
उनका अनुसार कार्यक्रमअन्तर्गत मानसिक चिकित्सकले परामर्श तथा उपचार गर्ने, स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर टोलटोलमा आत्महत्या रोकथामका लागि जनचेतना जगाउने कार्य भइरहेको छ ।
सरकारले आत्महत्याका रोकथाका लागि ११ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आइरहेको छ । आत्महत्या आव २०७८-७९ मा छ हजार आठ सय ३० जनाको ज्यान गएको थियो । आवमा २०७७-७८मा आत्महत्याबाट सात हजार एक सय ४१ जनाको ज्यान गएको थियो ।
विगत १० वर्षको अवधिमा नेपालमा ५३ हजार दुई सय ९८ जनाले आत्महत्याका कारण आफ्नो ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६९-७० मा तीन हजार नौ सय ७४ जना, २०७०-७१ मा चार हजार पाँच सय चार जना, २०७१र७२ मा चार हजार तीन सय ३२ जना, २०७२-७३ मा चार हजार छ सय ८० जनाको आत्महत्याका कारणले ज्यान गएको छ ।
यस्तै २०७३-७४ मा पाँच हजार दुई २४ जना, २०७४-७५ मा पाँच हजार तीन सय १७ जना, २०७५-७६ मा पाँच हजार सात सय ५४ जना, २०७६-७७ मा छ हजार दुई सय ७९ जनाको ज्यान गएको छ । कोभिड–१९ को महामारी, सन् २०१५ मा आएको विनाशकारी भूकम्प, शहर केन्द्रित बसाइँसराइ, अमिल्दो सामाजिक र आर्थिक गतिविधि एवं बोझले आत्महत्याको सङ्ख्या दिन प्रतिदिन बढी रहेको नेपाल प्रहरीको तथ्याङ्कले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले आत्महत्याको रोकथाम जनचेतनाबाट गर्न सकिने बताए । उनले आत्महत्या रोकथाम सबैको साझा सरोकारको विषय भएकाले सबैले गम्भीरतापूर्वक काम गर्नुपर्ने भनाइ राखे । मानसिक रोगीलाई मायाममता दिएर राखे आत्महत्या हुनुबाट जोगाउन सकिने धारणा राखे ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले सबैको सहकार्यबाट आत्महत्या रोकथाम गर्न सकिने बताए । उनले हरेक स्थानीय तहमा एक जना मनोपरामर्शदाता र हरेक जिल्लामा एक जना मनोचिकित्सक राख्ने तयारी भइरहेको बताए ।–रासस

 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार