सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, । नेपाल भलिबल सङ्घको आसन्न नवौँ चुनावी अधिवेशनका लागि सङघका वर्तमान महासचिव जीतेन्द्रबहादुर चन्दले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् यही भदौ २२ गते हुने उक्त अधिवेशनका लागि चन्दले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । उनले भलिबल खेलको विकासका लागि अन्तर्राष्ट्रियस्तरको भलिबल कर्भडहल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको राष्ट्रिय खेल भलिबलको केन्द्रमा अन्तर्राष्ट्रिय मापदण्डको कर्भडहल निर्माणका लागि सम्बन्धित निकायसँग निर्माण गर्न पहल गर्ने र आफ्नो कार्यकालमा जसरी भए पनि निर्माण गर्ने उल्लेख गरे । “सरकारको एकल प्रयासले मात्र पुग्दैन, यसका लागि स्वदेशी तथा विदेशी डोनरको आवश्यकता पर्दछ जुन सहयोग अपिलका लागि मेरो टिममा सशक्त व्यक्ति हुनुहुन्छ, उहाँहरुको सहयोगले नेपालमा पनि भलिबल खेलका लागि छुटै कर्भडहल निर्माण हामी गर्नेछौँ”, महासचिव चन्दले भने ।
महासचिव चन्दले आफ्नो कार्यकालमा कम्तीमा पनि छ वटा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता नेपालमा नै गर्ने योजना भएको बताए । उनले भलिबल खेललाई आर्थिक र भौतिकरूपमा सहयोग गर्ने दाता, भलिबल खेलमा आफ्नो पूरा जीवन समर्पण गर्नेहरु तथा खेल जीवनबाट सन्न्यास घोषणा गर्ने खेलाडीलाई सम्मान गर्दै जानेसमेत बताए । चन्द पूर्वखेलाडीका साथै सेन्ट्रल भलिबल एसोसियसनका कोषाध्यक्षसमेत हुनुहुन्छ । यसैगरी चन्दको प्यानलबाट रोशन श्रेष्ठले महासचिव पदमा उम्मेदवारी दिएका छन् । नेपाल भलिबल सङ्घकी वर्तमान उपाध्यक्ष निरोज मास्केले एक महिनाअघि नै अध्यक्ष पदमा उमेदवारीको घोषणा गरिसकेका छन् । उनको प्यानलबाट महासचिवमा मनवीर छन्त्यालले उम्मेदवारी घोषणा गरेका छन् । रासस