नवौं राष्ट्रिय खेलकुद : झापाबाट चार सय ४९ खेलाडी छनोट

प्रशिक्षकलाई सम्मान
मंगलबार, भदौ १४, २०७९
Global Ime Bank

बनियानी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट चार सय ४९ खेलाडी छनोट भएका छन् । उक्त प्रतियोगितामाअन्तर्गत प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा भाग लिन २७ विधामा ४४९ जना खेलाडी छनोट भएका हुन् । भदौ ४ गतेदेखि सुरु भएको खेलाडी छनोट प्रतियोगिता आज औपचारिक रुपमा समापन गरिएको छ ।

समापन कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले खेलकुद देशको पहिचानको महत्वपूर्ण आधारस्तम्भ भएकाले खेलकुदलाई सबै क्षेत्रबाट सहयोग पु¥याउनुपर्नेमा जोड दिए । खेल र खेलाडीलाई साधनस्रोत र सुविधा उपलब्ध गराउन सके अपेक्षाकृत सफलता मिल्ने बताए ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले छनोट प्रतियोगिताको गतिविधिबारे जानकारी गराएको थियो । सीमित स्रोतसाधनका बाबजुत भव्य रुपमा छनोट प्रतियोगिता आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको बताए ।
सोही कार्यक्रममा खेलकुद विकास समितिमा प्रशिक्षकको रुपमा लामो समय सेवा पु¥याएर सेवा निवृत्त हुनुभएका दुई प्रशिक्षकलाई सम्मान गरेको छ । हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदीप श्रेष्ठलाई सम्मान गरिएको हो ।

सुदूरपश्चिम क्रिकेट छनोट मङ्गलबारदेखि  

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता मङ्गलबारदेखि धनगढीस्थित फाप्ला खेलमैदान सुरु हुनेछ ।  
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार पहिलो खेलमा कैलाली र दार्चुला भिड्दा दोस्रोमा बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन् । भदौ १५ गते कञ्चनपुर र अछामबीच भिडन्त हुँदा दोस्रोमा बैतडी र डोटी आमनेसामने हुने भएका छन् । भदौ १६ गते पहिलो खेलमा कैलाली र दार्चुलाबीच विजेता र बझाङ र डडेल्धुराबीच विजेता टोलीबीच भिडन्त हुनेछन् । दोस्रो खेलमा बैतडी र डोटीबीच विजेता टोलीले बाजुरासँग प्रतिस्पर्धा गर्नेछ । भदौ १७ गते कञ्चनपुर र अछामबीच विजेता टोली र १६ गते भएको खेलको विजेता टोलीबीच भिडन्त हुनेछ ।  
नकआउट चरणमा गरिने छनोटको फाइनल खेल भदौ १८ गते हुने जनाइएको छ । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन खेलाडीबाट सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त क्रिकेट टोली नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनेछ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजमा हुने तय भएको भए पनि पुरुष क्रिकेट भने यही भदौ २२ गतेदेखि काठमाडौँ गर्ने निर्णय भएको छ । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टि ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि क्रिकेटको नयाँ मिति तय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।-रासस

 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ०६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार