निर्वाचन केन्द्रित अभियानमा तनहुँका दल

शुक्रबार, भदौ १०, २०७९

दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा राजनीतिक दलको तयारीले चुनावी सरगर्मी बढेको छ । जिल्लाका साना तथा ठूला राजनीतिक दलले निर्वाचन केन्द्रित भेला, प्रशिक्षण, बैठक आयोजना गरेसँगै चुनावी सरगर्मी बढेको हो ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेताहरु शङ्कर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल यतिखेर गृहजिल्ला तनहुँमा हुनुहुन्छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ पनि अहिले जिल्लामै हुनुहुन्छ । यसकारण पनि यहाँ चुनावी चर्चा बढेको पाइएको छ ।
विभिन्न दलका नेताहरुले उम्मेदवारी घोषणा गर्नेक्रम पनि बढेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नं १ मा आफूहरुको दाबी पत्रकार सम्मेलनमार्फत गरिसकेका छन् । 
तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट पूर्वमन्त्री शङ्कर भण्डारीको पनि दाबी छ । अघिल्लो पटक क्षेत्र नं २ बाट पराजित भण्डारी यसपटक भने तनहुँ क्षेत्र नं १ मै उम्मेदवार बन्ने चाहनामा छन् । नेकपा एमालेका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ तनहुँ क्षेत्र नं १ मा उम्मेदवार बन्ने चर्चा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट जिल्ला अध्यक्ष विनोद घर्तीले तनहुँ क्षेत्र नं १ मा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । यसैगरी तनहुँ क्षेत्र नं १ मा स्वतन्त्ररुपमा प्रविण पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । 
उता तनहुँ क्षेत्र नं २ मा नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेलको दाबी छ । नेकपा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य किरण गुरुङ, वर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल, पोलिटब्युरो सदस्य टुकराज सिग्देलको दाबी छ । 
नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ आजदेखि सुरु गरेको छ । यो अभियानका लागि केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई तनहुँमा प्रतिनिधिका रुपमा खटाएको छ । 
अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म सञ्चालन हुने कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनालले बर्ताए । 
नेपाली कांग्रेसले यो अभियानका लागि जिल्लाका दशवटै पालिकामा प्रतिनिधि परिचालन गरेको छ । व्यासमा प्रा डा कृष्ण गौतम, भानुमा देवकुमार श्रेष्ठ, बन्दीपुरमा सहदेव अधिकारी, देवघाटमा सरिता गुरुङ, आँबुखैरेनीमा चिनु पोख्रेल, शुक्लागण्डकीमा मिलन आले, ऋषिङमा हरि वाग्ले, म्याग्देमा श्रीराम सुवेदी, भिमादमा किसान गुरुङ र घिरिङमा रामकृष्ण विक खटिनुभएको छ । 
यो अभियान प्रत्येक पालिकामा भदौ १५ गते, ८५ वडामा भदौ १८ गते र १९ देखि २२ गतेसम्म वडाको टोलमा सञ्चालन गरिने खनालले जानकारी दिए । “नेपाली कांग्रेस पूर्णरुपमा निर्वाचन केन्द्रित अभियानमा जुटिसकेको छ”, खनालले भने । 
नेकपा एमाले तनहुँले जिल्लास्तरको प्रशिक्षण, पालिकास्तरको प्रशिक्षण र बैठक आयोजना गरेको छ । निर्वाचनलाई लक्षित गरी सबै पालिकामा भेला, प्रशिक्षण र बैठक सञ्चालन गरिएको एमाले तनहुँका उपाध्यक्ष हरिराज कँडेलले जानकारी र्दिए । 
सत्तारुढ नेकपा एकीकृत समाजवादी तनहुँ उम्मेदवार सिफारिस गर्ने तयारीमा छ । केन्द्रीय कमिटीले उम्मेदवार सिफारिस गर्न निर्देशन दिएसँगै दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा बैठक बसेर उम्मेदवार सिफारिस गर्न लागिएको जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए। 
सत्तारुढ जनता समाजवादी पार्टी तनहुँले भने उम्मेदवार सिफारिस गरिसकेको छ । जसपा तनहुँको जिल्ला कार्यसमिति बैठकले तनहुँका दुई सङ्घीय क्षेत्र र दुई प्रदेशसभा क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । 
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभामा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री शिवलाल थापा मगरलाई सिफारिस गरिएको छ । त्यस्तै तनहुँ क्षेत्र नं १ को प्रदेश (क) मा टेकबहादुर गुरुङ र प्रदेश (ख) मा सामाजिक अभियन्ता खड्क आले मगर सिफारिस भएका छन् । तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा केन्द्रीय विज्ञ परिषद् सदस्य सोमबहादुर नेपालीलाई सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । 

काँग्रेसले जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटायो
‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ ।
गण्डकी प्रदेश कार्यसमितिको बिहीबार सम्पन्न पदाधिकारी बैठकले प्रदेशअन्तर्गतका जिल्लामा प्रदेश समितिका पदाधिकारी र ३६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला ‘मधु’ले जानकारी दिए । उनका अनुसार मनाङ र मुस्ताङका लागि प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापतिद्वय कल्पना तिवारी र मेखलाल श्रेष्ठलाई बागलुङ र म्याग्दी, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेलाई कास्की र पर्वत, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठलाई गोरखा, सहमहामन्त्री कोपिला रानाभाटलाई स्याङ्जा, रमेश पाण्डेलाई नवलपुर, रामचन्द्र जोशीलाई लमजुङ र माधवप्रसाद बाँस्तोला ‘मधु’लाई तनहुँ जिल्लाका लागि प्रतिनिधि खटाइएको छ ।
त्यस्तै ३६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको उनले जानकारी दिए । बैठकबाट प्रदेश कार्यसमितिअन्तर्गत सूचना सञ्चार तथा प्रचार विभागमा सबै जिल्लाको प्रतिनिधित्व हुने गरी १२ प्रदेश विभाग सदस्य थप गरिएको विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए । 
बैठकले कांग्रेस केन्द्रीय सदस्य, नेता एवं समाजवादी चिन्तक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको असामयिक निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार