सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि रु ६० करोड बजेट छुट्याएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रु ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बताए । उनले उक्त रकम तीन पटक गरेर लिनेसमेत जानकारी दिए । पहिलो चरणमा रु १० करोड, दोस्रो चरणमा रु २३ करोड र तेस्रो चरणमा रु २७ करोड लिने बताए । सरकारले पहिलो चरणको लागि रु १० करोड रकम भने विनियोजन गरिसकेको छ । उक्त रकम विभिन्न प्रदेशमा प्रतियोगिताको तयारीको लागि पठाइसकेको सदस्य सचिव घिसिङले जानकारी दिए । राखेपले उक्त प्रतियोगिताको काउन्टडाउनसमेत सुरु गरिसकेको छ । अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ । प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा तीन सय ९३ स्वर्ण तीन सय ९३ रजत र छ सय कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलस्थल भने यही भदौ १५ गतेसम्म टुङ्गो लाग्ने राखेप सदस्य सचिव घिसिङले बताए ।
क्रिकेट खेलाडीलाई सम्मान गरिने क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) को आयोजनामा क्रिकेट अवार्ड भदौ महिनामा हुनेभएको छ । खेलाडीले खेल क्षेत्रमा गरेको उल्लेखनीय मेहेनतको मूल्याङ्कन गर्दै यहीँ भदौ २४ गते अवार्ड वितरण गर्ने यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सिप्यानका महासचिव तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बताए । उक्त अवार्डमा विभिन्न पाँच विधामा खेलाडीलाई सम्मान गरिनेछ । जसमा वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरी ५ विधामा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । वर्ष पुरुष खेलाडी र महिला खेलाडीले ट्रफिसहित जनही रु एक लाख ३२ हजार प्राप्त गर्नेछन । वर्ष उदीयमान खेलाडीले रु ६६ हजार पाउनेछन् । त्यसैगरी वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् । कोभिडका कारण गतवर्ष उक्त अवार्ड कार्यक्रम हुन सकेको थिएन । कोभिडपछि अहिलेसम्मको क्षणलाई मूल्याङ्कन गरेर वर्ष उत्कृष्ट क्षणको छनोट गरिने सिप्यानले जनाएको छ ।