सोसल मिडिया
Contact Us
युनिकोड
कास्की । नवौँ राष्ट्रिय खेलकुदको आवश्यक प्रशासनिक र व्यवस्थापकीय कामका लागि पोखरामा मूल आयोजक समिति कार्यकारी समितिको सचिवालय स्थापना गरिएको छ । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा स्थापना गरिएको सचिवालयको सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले संयुक्तरूपमा उद्घाटन गरे । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुदका लागि गर्नुपर्ने आवश्यक सबै प्रशासनिक र तयारीका सबै काम सोही सचिवालयबाट हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं कार्यकारी समितिका सचिव टङ्कलाल घिसिङले बताए । सचिवालयमा आवश्यक जनशक्ति व्यवस्थापन गरिने र यसलाई नै प्रतियोगिताभरका लागि मुख्य काम गर्नेस्थल बनाइने उनले बताए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गहतराजलले सङ्घ, प्रदेश र स्थानीय सरकार तीनै तहको संयुक्त प्रयासबाट राष्ट्रिय खेलकुदलाई सफल बनाइने बताए । राष्ट्रिय खेलकुद आयोजना गर्ने संवैधानिक जिम्मेवारी केन्द्रीय सरकारको भए पनि समग्र भूमिका सोही ठाउँको प्रदेश र स्थानीय सरकारको रहने खेलकुदमन्त्रीले बताए । उनले भने, “खेलकुदको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुदलाई सफल बनाउनु समग्र भूमिका आयोजनास्थल रहेको प्रदेश र स्थानीय सरकारको हुन्छ । त्यसैले गण्डकी सरकार र पोखरा महानगरपालिकासँग मिलेर प्रतियोगिता सम्पन्न गर्ने दृढ सङ्कल्प गरेका छौँ ।” मन्त्री गहतराजले ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद पोखरा र गण्डकीका लागि महत्वपूर्ण अवसर बन्ने भन्दै यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय खेलकुदको महाअभियानलाई सफल बनाउन कार्यकारी समितिको सचिवालयले प्रभावकारी भूमिका निभाउने विश्वास व्यक्त गरे । नेपालका लागि विशेष महत्व राख्ने राष्ट्रिय खेलकुद गण्डकीको राजधानी पोखरामा हुनु गौरवको विषय रहेकाले यसलाई सम्पन्न गर्न तीनै तहका सरकारका संयुक्त प्रयत्नबाट काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ४० वर्षपछि हुन लागेको प्रतियोगिता आयोजनाको महत्वपूर्ण अवसर प्राप्त भएकाले खेलकुदका माध्यबाट पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन थप टेवा पुग्ने बताए । स्थानीय सरकारले राम्रो हुँदा जस र नराम्रो हुँदा अपजससमेत लिनुपर्ने भएकाले सानोभन्दा सानो कामलाई पनि व्यवस्थित गरी पाहुनाका लागि राम्रो आतिथ्यता प्रदान गरिने प्रतिबद्धता उनले व्यक्त गरे । नवौँ राष्ट्रिय खेलकुदका लागि पोखरामा अहिले तयारीका काम अघि बढाइएको छ । खेलाडी प्रशिक्षण, खेलस्थल अवलोकन निरीक्षण तथा निर्माणाधीन खेल पूर्वाधारलाई सम्पन्न गर्न लागिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
तेक्वान्दो सेमिनार तथा कोर्स सम्पन्न
राष्ट्रिय तेक्वान्दो सङ्घ, नेपालको आयोजनामा पाँचौँ राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स आज सम्पन्न भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको उक्त सेमिनार तथा कोर्समा सहभागी प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले प्रमाणपत्र प्रदान गरे । उक्त सेमिनारमा उपत्यका तथा विभिन्न जिल्लाका गरी करिब एक सय ३५ जनाको सहभागिता थियो । सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै राखेप सदस्य सचिव घिसिङले एकै प्रकृतिका खेल रहेर पनि विगतमा किन दुई सङ्घ हुनु परेको हो त्यसको जवाफ सङ्घमा रहेका नेतृत्वले दिनुपर्ने बताए । उनले विभिन्न कारणले बनेका दुई सङ्घलाई एक हुन सुझाव दिँदै आफ्नो कार्यकालमा अनावश्यक सङ्घहरूको अस्तित्व नरहने बताए । राष्ट्रिय तेक्वान्दो सङ्घका महासचिव राजकुमार कार्कीले विगतमा तेक्वान्दो खेलमा देखिएको विकृतिहरू यस पटकको नवौँ राष्ट्रिय खेलकुदका दौरान नहोस् भन्दै यस सेमिनार र कोर्सले त्यसलाई समाधान गर्ने विश्वास रहेको बताए । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा उक्त कार्यक्रम यही भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेस प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ ।
भोलिदेखि युरो कप बास्केटबल
युरो स्कुलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा छात्रतर्फ १८ तथा छात्रातर्फ १२ टोलीको सहभागिता रहने युरो स्कुलकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले यहाँ पत्रकार सम्मेलनमा जानकारी दिइन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ । विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न अवसर दिनुका साथै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताइन् । यु–१७ उमेरसमूहमा उक्त प्रतिस्पर्धा हुने छ । नेपाल बास्केटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताका खेल हात्तीगौडास्थित कोर्टमा खेलाइने छ । फाइनल खेल यही भदौ १३ गते हुनेछ ।