निर्वाचनमा केन्द्रित हुन अध्यक्ष दाहालको निर्देशन

शुक्रबार, भदौ ३, २०७९

काठमाडौँ, ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित हुन युवापङ्क्तिलाई निर्देशन दिएका  छन्  । माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग वाइसिएलको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा पार्टीको पक्षमा एकढिक्का भएर लाग्न निर्देशन दिए  । “चुनावी महासङ्ग्राम अगाडि छ, त्यो सङ्ग्राममा युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ”, उनले भने , “अब तपाइँहरु क्रान्तिकारीलाई विजयी गराउने र समाजवादी क्रान्तिको आधार तयार पार्नेमा केन्द्रित भएर लाग्नुपर्नेछ ।” राजनीतिक सङ्घर्षका क्रममा युवाले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा फौजका रुपमा खटिन पनि युवापङ्क्तिलाई आग्रह गरे  । “युवा शान्तिपूर्ण फौजका रुपमा खटिनुपर्छ”, अध्यक्ष दाहालले भने  ।
 
राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताए । “माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने विषयलाई कसैले पनि रोक्न सक्दैन”, अध्यक्ष दाहालले भने  । माओवादी केन्द्र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न क्रियाशील रहेको जनाउँदै उनले जनताको विशाल समाजवादी सेना तयार गर्ने र उत्पादन वृद्धिको नयाँ अभियानमा पार्टी केन्द्रित भएको बताए । “कम्युनिष्टलाई एकताबद्ध गर्ने अभियान केही कारणले असफल भएको छ, त्यो असफलताबाट हामी निरास हुनुहुँदैन”, उनले भने “फेरि त्यसलाई सफल बनाउन अर्को ढङ्गबाट अगाडि बढाउनुपर्ने छ ।” वामपन्थीलाई एकताबद्ध गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाएर समाजवादको यात्रामा अगाडि बढ्ने पार्टीको नीति रहेको उनको भनाइ छ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ नारामा आजदेखि सुरु भएको भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधिको सहभागिता रहेको छ । रासस 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार