निर्वाचन केन्द्रित दलका गतिविधि

नेकपा एसकाे जिल्ला कमिटीको काठमाडौँमा भेला, निर्वाचन क्षाेत्र दौडामा ओली, माओवादी स्थायी समिति बैठक
शुक्रबार, भदौ ३, २०७९


काठमाडौँ । सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि निर्वाचन मिति तय गरेपछि राजनीतिक दलहरुले निर्वाचनलाई लक्षित गरी भेला सभा तथा बैठकहरुको मात्रालाई बढाउँदै लगेका छन्
यसै क्रममा निर्वाचन आयोगका दर्ता भएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रले भेला छलफल तथा केन्द्रीय समितिका बैठक डाकेका छन् ।
नेकपा एसले जिल्ला कमिटीको यही भदौ ४ गते काठमाडौँमा भेला गर्ने भएको छ । उक्त भेलामा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी तथा जिम्मेवारी, साङ्गठनिक कार्य प्रगति विवरण प्रस्तुति, आर्थिक विवरण प्रस्तुति र कमिटीको नयाँ कार्यसमितिको निर्वाचान गरिने कमिटीका सचिवालय सचिव कृतु भण्डारीले जानकारी दिए ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने भेलाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जिल्लाअन्तर्गत रहेका वडा, नगर, प्रदेश तथा केन्द्रीय निर्वाचन क्षेत्रमा उम्मेदवारको छनोटको कार्यविधि तयार गर्ने छ । साथै पाँच दलीय गठबन्धनमा भएका कमी कमजोरीको समिक्षा गर्नेछ  ।
चुनाव प्रचारप्रसारको तयारी तथा सम्बन्धित नेता तथा कार्यकर्तालाई आवश्यक जिम्मेवारी प्रदान गर्ने विषयमा समेत भेला केन्द्रित हुनेछ । केन्द्रले तोकेको उम्मेदवारको मापदण्डअनुसार साङ्गठनिक गतिविधिमा क्रियाशीलका साथै त्यस क्षेत्रमा रहेका व्यक्तिको लोकप्रियतका आधारमा जिल्लाले केन्द्रमा उम्मेदवारको नामावली सिफारिसका लागि रणनीति तयार गरिने छ । सङ्घीय संसद्अन्तर्गत काठमाडौँमा १० प्रतिनिधिसभा सदस्य तथा २० प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ ।

एमाले अध्यक्ष झापाका कार्यकर्तालाई संगठित गर्दै

कार्यकर्ता संगठित गर्न बिहीबार झापा आइपुगेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तीन दिन झापामै रहने छन् ।
अध्यक्ष ओली बिहीबार दिउँसो गृहजिल्ला झापा आएका हुन् । उनी तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहने बताइएको छ । तीन साताअघि पनि उनी चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर राजधानी फकिएका थिए ।
उनको संसदीय क्षेत्रका प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
झापा आए लगत्तै ओलीले सत्ता गठबन्धनप्रति कटाक्ष गरेका छन् । ओलीलेसत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको दाबी गरे ।
उनले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताएका हुन् । उनले एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन पनि दिएका छन् ।

माओवादी बैठक आज बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बिहानका लागि तय गरिएको छ ।
प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि सांसदहरूले मतदान गर्नुपर्ने भएकाले बिहीबारका लागि राखिएको बैठक आज बिहानका लागि सरेका हो ।
पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले बिहीबार साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो । त्यसअघि माओवादीले बिहीबार बिहान नौ बजे बैठक बोलाएको थियो ।

बैठक अहिले साढे आठ बजे बस्ने माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । आजको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ०६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार