नक्कली जग्गा विक्रेतालाई सङ्गठित अपराध मुद्दा

शुक्रबार, भदौ ३, २०७९

काभ्रेपलाञ्चोक । नक्कली जग्गा बिक्री गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले ‘सङ्गठित अपराध मुद्दा’ दर्ता गरेको छ । अनुसन्धानका क्रममा उक्त प्रकरण सङ्गठित अपराध देखिएकाले सोहीअनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
बनेपा नगरपालिका–५ मा हुँदै नभएको जग्गालाई ७६ कित्ताको प्लट बनाई बिक्री गर्ने गिरोहको ठगी र सरकारी छाप दस्तखत कीर्ते अभियोगको मुद्दालाई सरकारी वकिल कार्यालयको परामर्शमा सङ्गठित अपराध मुद्दामा बदलिएको हो । यसअघि उक्त प्रकरणका आरोपीलाई ठगी र सरकारी छाप दस्तखत कीर्ते अभियोगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।
प्रहरीका अनुसार उक्त अभियोगमा अनुसन्धानले एकपछि अर्को व्यक्तिको संलग्नता देखिँदै गएको छ । “अब यो प्रकरणको सङ्गठित अपराधअनुसार थप अनुसन्धान गरिनेछ”, जोशीले भने ।
धादिङ घर भएका रवि रेग्मीले बिक्री गरेको भनिएका जग्गाको प्लटिङ तयार गरी कागजमा कित्ता तयार गर्ने इञ्जीनियर खानिखोला–५ तालढुङ्गा घर भई बनेपा बस्दै आएका निर्मल लामालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले यसअघि जिल्लास्थित मालपोत कार्यालयका दुई कर्मचारी शशित भण्डारी र रामविनय यादवलाई पक्राउ गरेको थियो । नक्कली जग्गा खरिदकर्ताले गरेको उजुरीका आधारमा मुख्य योजनाकार भनिएका रेग्मी एक महिनाअघि पक्राउ परेका थिए । उक्त जग्गा बिक्री गर्न सघाउने लेखापढी व्यवसायी सीताकुमारी थापा र उनका श्रीमान् राजन भने फरार रहेको प्रहरीले जनाएको छ ।
रेग्मीले साविक बनेपा–१ हाल बनेपा–५ मा पर्ने खोला किनारको (हाल प्लटिङ गरिएको) जग्गा देखाउँदै गत साउन ८ गते पास गर्ने गरी ७६ कित्ताको प्लट बनाएर नक्कली कागजातसहित लालपुर्जा तयार गरी ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रहरी उपरीक्षक जोशीका अनुसार एउटै प्लट देखाएर ठगिनेमध्ये आठ जनाको उजुरी परेको छ भने थप पीडित आउने क्रम पनि देखिएको छ । घडेरीका लागि उक्त जग्गामा विभिन्न खरिदकर्ताले करिब रु तीन करोड बैना गरिसकेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

स्रोत नखुलेको ६९ लाख रकमसहित तीन पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौँ मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौँको टेकु बस्ने ३३ वर्षीय अङ्कित गोयन्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले गैरकानुनीरूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आएका उनीहरुलाई काठमाडौँको घण्टाघर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२८ घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई श्रेष्ठले सञ्चालन गरेको सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले गोयन्काले कलङ्कीमा सञ्चालन गरेको आनी इन्टरनेशनलको कार्यालयबाट थप रु नौ लाख बरामद गरेको छ । यस्तै, फास्ट ट्रयाक इन्टरनेशनल प्रालिको नाममा काटिएको सानिमा बैंकको रु १५ लाख बराबरको चेकसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सूचना अधिकृत कोइरालाले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ०६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार