मर्स्याङदी गाउँपालिकामा छनोट भएका योजना वैशाख मसान्तभित्र सक्ने समयसीमा तोकियाे

मंगलबार, साउन ३१, २०७९

लमजुङ । मर्स्याङदी गाउँपालिकाले चालू वर्षका लागि समयसीमा तोकेर योजनाको काम थालेको छ । आर्थिक बर्ष ०७९/०८० का लागि छनोट भएका योजना आगामी वैशाख मसान्तभित्र सक्नेगरी समयसीमा तोकेको हो ।  गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले योजना सम्झौता तथा कार्यान्वयनलाई थप चुस्त दुरुस्त र प्रभावकारी बनाउन समयसीमा तोकेर चालू वर्षकाे काम सुरु गरिएको बताए । गाउँपालिकाले बनाएको योजना कार्यान्वयन कार्यतालिकाअनुसार योजनाको भुक्तानी भने २०८० जेठ मसान्तसम्म लिन सकिने अध्यक्ष गुरुङले बताए । 

गाउँपालिकाले योजनाहरुको टेण्डर निष्काशन ०७९ भदौ १५ गतेसम्म, उपभोक्ता समिति गठन ०७९ भदौ मसान्तसम्म , उपभोक्ता समितिको तालिम असोज १५ गतेसम्म, प्राविधिक स्टिमेट पुस १५ गतेसम्म, योजना सम्झौंता माघ १५ गतेसम्म र योजना सम्पन्न ०८० वैशाख मसान्तसम्म सक्ने समयसीमा तोकेको छ । 

असार मसान्तमा हतारहतार विकासे योजना सक्ने परिपाटीको अन्त्य गरी उक्त व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । बर्खाको समयमा हुने योजनाका काम गुणस्तरीय र दिगो नहुने भन्दै बर्षातको समयअगावै योजना सक्ने निर्णय गरेको अध्यक्ष गुरुङले बताए । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालका अनुसार वैशाख महिनाभित्रै सबैखाले योजनाका निर्माण तथा मर्मत कार्य सम्पन्न गर्ने निर्णय गरेको हो । विकास निर्माणलाई गुणस्तरीय र दिगो बनाउन चालू आर्थिक वर्ष सकिन दुई महिना अगाबै योजना सक्ने निर्णय गरेको बताए । उनका अनुसार योजना सम्झौता गर्दा १० लाख रुपियाँसम्मको योजना वडा कार्यालयबाट सम्झौता गर्ने व्यवस्था मिलाएको छ । १० लाखभन्दा माथिको योजना भने गाउँपालिकामा सम्झौता गर्ने व्यवस्था मिलाइएको छ । वडाबाट योजना सम्झौंता हुने निर्णय लमजुङका ८ वटा पालिका मध्ये मर्स्याङ्दीले पहिलोपटक सार्वजनिक गरेको हो । 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ०८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार