एकीकृत समाजवादीका लागि चुनावमा ‘विशिष्ट मापदण्ड’ 

मंगलबार, साउन ३१, २०७९

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले नेतृत्वलाई बुझाउन प्रतिबेदनको तयारी थालेको छ ।  सत्ता गठबन्धन कार्यदलले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटको मापदण्डसहितको प्रतिवेदन शीर्ष तहमा बुझाउन प्रतिवेदन लेखनको काम थालेको हो । 
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको कार्यदल बैठकले मापदण्ड तय गरेको बैठकपछि नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड २०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मत हुने उनले जानकारी दिए ।
‘चाँडोभन्दा चाँडो गृहकार्य पुरा गर्ने पहल अगाडि बढाएका छौं। बुधबार ४ बजे हामी केही निर्णय सार्वजनिक गर्छौं,’ उनले भने , ‘सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड २०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मत हुने छ।’

एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले पहिलो पटक संघीय निर्वाचनमा भाग लिन लागेको भन्दै विशिष्ट रुपमा राखेर निर्णयमा पुग्ने भएको छ । कार्कीका अनुसार एकीकृत समाजवादीका लागि विशिष्ट रुपमा राखेर मापदण्ड तय गरेर अघि बढ्ने तयारीमा कार्यदल रहेको छ । 
कार्यदलमा गत निर्वाचनमा जितेको स्थानमा सम्बन्धित दलको दाबेदारी रहने व्यवस्था रहँदा एमालेले जितेको स्थानमा एकीकृत समाजवादीको दाबी रहने अवस्था बन्छ । तर, स्थानीय तह निर्वाचनमा प्राप्त मतमा एकीकृत समाजवादीको मत न्यून आएको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार