वनकालीमा सडकमाथिबाट बगेको ढलले साउने सोमबारका भक्तजनलाई असर

सोमबार, साउन ३०, २०७९

काठमाडौँ । साउने सोमबार बिहानै वेद ध्वनिले आनन्दानुभूति हुने वाग्मती किनारस्थित पशुपति क्षेत्रमा सडकमाथिबाट बगेको ढलको दुर्गन्धले भक्तजनलाई आक्रोशित बनाएको छ । पशुपति क्षेत्रको वनकाली उद्यान अघि चार दिनदेखि ढल बगिरहेको छ । ढललाई छल्दै दर्शनार्थी पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेका छन् । प्रहरी वृत्त गौशालाबाट ओरालो झरेर वनकाली उद्यान हुँदै पशुपतिनाथ मूल मन्दिर छिर्ने भक्तजनलाई साउनको अन्तिम सोमबार आज दुर्गन्धले नाक थुन्न बाध्य भएकाे छ । 

राजधानीमा एक महिनाअघिदेखि नै फोहरसमेत उठ्न नसकेका बेला पशुपति क्षेत्र ढलले दुर्गन्धित बनेपछि हैजालगायत रोग फैलन सक्ने चिन्ता व्यक्त गर्छन् चावहिलबाट दर्शनका लागि आएकी दर्शनार्थी अनुषा लामा । ढलको दुर्गन्धले कति भक्तजन त यो बाटोबाट फर्केर वैकल्पिक मार्ग प्रयोग गर्दै मन्दिर प्रवेश गरिरहेका छन्।   लामासँगै उनका दुई साथी सविना श्रेष्ठ र सपना तामाङ भने नाक थुनेर सडक पार गर्दै गरेको अवस्थामा भेटियो। साउनको अन्तिम सोमबार पशुपति क्षेत्रमा धेरै भीड हुने भएकाले घुमेर जाँदा दर्शन गरेर घर फर्कन ढिला हुने उनीहरुको भनाइ छ ।
 
यस सम्बन्धमा प्रतिक्रिया लिनका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रवेश गर्दा कोषका पदाधिकारी र माथिल्लो तहका कर्मचारी कोही भेटिएनन् । कोष सञ्चालक परिषद् सदस्य अजुर्नप्रसाद बाँस्तोला आफैँ अध्यक्ष रहेको एउटा संस्थाको कार्यक्रममा भाग लिन गएको र अन्य कर्मचारी पनि सोही कार्यक्रममा सहभागी भएको  प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिइन् । वनकाली उद्यानअघिको ढलको समस्या क्रोनिक भएको उनको भनाइ छ ।

PPM_KTM_1143081660561248.jpg

साउनको अन्तिम सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड हुँदा पनि पशुपति क्षेत्रको व्यवस्थापनका लागि काम गर्ने कोषका कर्मचारी अर्कै कार्यक्रममा सहभागी हुँदा निःशुल्क भनिएको जुत्ता चप्पल कक्षमा समेत पैसा उठाइरहेको देखिन्थ्यो । विगतका सोमबार कोषका कर्मचारीले अनुगमन र रेखदेख गर्ने गरेकामा आज भने अर्कै कार्यक्रममा व्यस्त हुँदा भक्तजनलाई असहज भएको रामचन्द्र गुरुङ बताउछन् ।
 
साउनको सोमबार पशुपति क्षेत्रमा हरितालिका तीज, बाला चतुर्दशी र महाशिवरात्रिमा जत्तिकै भक्तजन आउने दिन हो । अन्तिम सोमबार अन्य सोमबारभन्दा बढी भक्तजन पशुपतिनाथको दर्शनका लागि आउँछन् । भक्तजनका लागि राम्रो व्यवस्थापन नगर्दा दर्शनमा समस्या भएको भक्तजनले गुनासो गरेका छन् । साउनका यसअघिका चारैवटा सोमबार पशुपतिनाथ मन्दिर आएर दर्शन गरिसकेकी सुविज्ञा रानामगर पाँचौँ सोमबार कोषले राम्रो व्यवस्थापन नगरेको र  कोषका कर्मचारी र स्वयंसेवकले पनि विगतका सोमबार जति पशुपति क्षेत्रमा आज नदेखिएको गुनासो गर्छन् । 

कोषका सदस्यसचिव डा मिलनकुमार थापाले साउनको सोमबार परेकाले कोष सञ्चालक परिषद् सदस्यले नेतृत्व गरेएको  संस्थाको कार्यक्रममा सबैलाई नजान निर्देशन दिएको जानकारी दिँदै वनकाली उद्यानअघिको ढलको समस्या समाधानका लागि भोलिदेखि नै काम गर्ने बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार