सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आफैंले गराएको अघिल्लो संघीय तथा प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका कारण नराम्ररी पछि परेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा यस पटकको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई टिकाएरै चुनावमा होमिने रणनीतिका साथ अघि बढेका छन् । यसका लागि उनले पार्टी केन्द्रीय समिति बैठकबाटै गठबन्धन बनाएरै चुनावमा जाने निर्णय गराउन पनि सफल भए । केन्द्रीय समितिबाट निर्णय गराएको गठबन्धनको विषयले उनले हरेक जसो कार्यक्रममा पक्षमा कुरा गर्न छाडेका छैनन् । सोमबार पनि उनले गठबन्धनकै पक्षमा वकालत गर्दै मन्तव्य व्यक्त गरे । उनले भनेका छन, ‘आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गरिने छ ।’ नेपाली कांग्रेसबाट निर्वाचित भएका गाउँपालिका, नगरपालिका, महानगरपालिका तथा समन्वय समितिका प्रमुख उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रममा सोमबार सम्बोधन गर्दै देउवाले ४ मंसिरको चुनावबाट कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउनुपर्नेमा जोड दिए । २०७४ सालको प्रदेश र प्रतिनिधसभा निर्वाचनमा एक्लै लड्दा कांग्रेसले राम्रै मत पाए पनि अरुले गठबन्धन गरेका कारण जित्न नसकेको देउवाले काँग्रेसका जनप्रतिनिधिको भेलामा स्मरण गराए । उनले भने, ‘स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पायौं, फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुछ ।’ गठबन्धनमा रहेका दलहरुको जनाधार हेरेर तालमेलको गृहकार्य गर्न कार्यदल गठन गरिसकेको उनको भनाइ थियो । कांग्रेस सभापति देउवाले अघि भने, ‘बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिट जित्नु ठूलो हो ।’ उनले पार्टीमा कसैलाई पनि काखापाखा र भेदभाव नगर्ने बताए । तर गठबन्धन छँदैछ, चुनाव जितिहाल्छौं, टिकट चाहिन्छ नभन्न समेत आग्रह गरे ।