मेलम्ची नगरपालिकाका पहिरो प्रभावितलाई स्थानान्तरण गरिने

मंगलबार, साउन २४, २०७९

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ती तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधैँ तयार रहेको बताए ।
नगरप्रमुख तामाङले अहिले नगरपालिकाको प्रायः सबै वडाहरूमा पहिरो गइरहेको, नदी तटीय क्षेत्रहरूमा नदीले कटान गरिरहेको अवस्थामा नगरले भ्याएसम्मको काम गरिरहेको उनको भनाइ छ । सोमबार वडा नं २ निबुगाउँमा गएको पहिराको स्थलगत अवलोकन गर्दै प्रमुख तामाङले जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि आफ्नो ध्यानाकर्षण भएको बताए ।
अवलकोनकै लागि पुग्नुभएकी उपप्रमुख उमा प्रधानले पनि नगरका कमजोर भूभागमा अहिले धमाधम पहिरो गइरहेको भन्दै जोखिममा रहेका बस्ती संरक्षण र स्थानान्तरणमा नगरले पीडितहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए । उनले अझै पनि पानी परिरहेको बताउँदै जोखिमयुक्त स्थानमा नबस्नसमेत आग्रह गरे ।
उपप्रमुख प्रधानले स्थानीय सरकारले मात्र काम गर्न नसक्ने भन्दै सङ्घ र प्रदेश सरकारले पनि यस विषयमा चासोका साथ हेर्नुपर्नेमा जोड दिए । अवलोकनमा वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले पीडितहरूको माग र तत्कालीन समस्याका बारेमा प्रमुख र उपप्रमुखलाई जानकारी गराए ।
साउन २० गते बेलुका गएको पहिराले निबुगाउँका १६ घर उच्च जोखिममा रहेको छ भने जोखिममा रहेकाहरू छिमेकीमा आश्रय लिएर बस्न परेको स्थानीय रामचन्द्र दुलालले बताए । अवलोकनपछि काउले भोटेचौर सडक खुलाउनका लागि काम सुरु भएको छ ।–रासस

 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार