सोसल मिडिया
Contact Us
युनिकोड
कावासोती । सरकारले निर्वाचन मिति घोषणा गरेसँदै दल तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन लड्ने घोषणा गर्न थालेका छन् । यसै सन्दर्भमा आइतबार नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा पूर्वी नवलपरासी १ मा उम्मेदवार बन्ने घोषणा गरे । लगातार ३ पटकसम्म यसै क्षेत्रबाट निर्वाचन जितिसकेका कोइरालाले चौंथोपटक उम्मेदवार बन्ने घोषणा गरेका हुन् । प्रेस यूनियनका निर्वाचित पदाधिकारीलाई कावासोतीमा आयोजित सम्मान कार्यक्रममा कोइरालाले फेरि उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका हुन् । निर्वाचनमा उम्मेदवारी दिने घोषणासहित उनले आफ्नो निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको खेलमैदान, ट्रमा सेन्टर, त्रिवेणीदेखि देवघाटसम्म नारायणीको किनारैकिनार पक्की सडक संजाल र विपन्नको जीवनस्तर उकास्न कृषि कार्याक्रम लागू गर्ने प्रतिबद्धता पनि दोहोर्याए । 'पूर्वी नवलपरासीलाई उत्कृष्ट जिल्ला बनाउन मैले अघि सारेका यी ४ वटा कुरा पुरा गर्न फेरि चौंथो पटक उम्मेदवारी दिने निर्णय गरेको छु', कोइरालाले भने, 'नवलपरासीमा लागू गरिने यी योजनाबाट जिल्लाको कायापलट हुन्छ ।' उनले बीपी अन्तर्राष्ट्रिय खेल मैदानका स्वदेशको बजेटले मात्रै अपुग हुने भएकोले छिमेकी देशका साथीहरुसँग यसबारे छलफल भइरहेको पनि दाबी गरे । 'यो परियोजना नेपाल सरकारको बजेटबाट मात्र सम्भव हुँदैन', उनले भने, 'त्यसका लागि मेरा भारतीय मित्रहरुसँग कुरा गरेको छु ।' उक्त खेल मैदान निर्माणका लागि अर्थ मन्त्रालयले गैंडाकोट नगरपालिकामा प्रस्ताव गरेर बजेटसमेत विनियोजन गरेको छ । लगातार तीन पटकसम्म संघीय सांसदमा निर्वाचित सांसद कोइरालाले देखिने काम नगरेको भन्दै मतदाताले आलोचना भइरहँदा चौंथो पटक चुनाव लड्ने घोषणा गरेका हुन् । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न मिति तोकेको छ ।