जीर्ण बन्दै खुला कारागारका संरचना

आइतबार, साउन २२, २०७९

राँझा । बाँकेको गनापुरमा निर्मित खुला कारागारका संरचना जीर्ण बन्दै गएका छन् ।  नेपालगञ्ज नजिकै रहेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशक अघि निर्माण भएको खुला कारागारको साढे दुईतले १८ कोठे प्रशासनिक भवन प्रयोगमा नआउदा जीर्ण हुँदै गएको हो । त्यहाँ दुई वर्ष अघि निर्माण भएको ३६ कोठे भवन पनि प्रयोगमा आउन सकेको छैन । 
खुला कारागारलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भए पनि सञ्चालन कार्यविधि नबनेका कारण कारागार विभागले त्यहाँ कैदी राख्न नसकेको बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले बताए । 
उनका अनुसार कारागार सञ्चालन हुन नसक्दा भवन जीर्ण बन्दै गएका हुन् । दुई तिहाई कैद भुक्तान गरिसकेका र आचारण सुधार भएका कैदीलाई निश्चित शर्तको आधारमा खुला कारागारमा राख्ने अवधारणा अनुसार बाँकेको गनापुरमा उक्त कारागार बनाइएकोे हो । यसका लागि सञ्चालन कार्यविधि नबन्दै निर्माण भएका भौतिक संरचना अहिले बेवारिसे अवस्थामा पुगेका हुन् । 
खुला कारागार सञ्चालनका लागि सुझावहरु पठाए पनि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआएको कारागार प्रमुख  सोनकरले बताए । 
खुला कारागारमा कैदी बस्ने ३६ कोठे दुई वटा भवन छन् । दुवै भवनमा कैदीका लागि छ–छ वटा शौचालय छन् । त्यहाँ  निर्मित कारागार भवन र प्रशासनिक भवन एक चौकीदारको भरमा छोडिएको छ । 
संरचना निर्माण भएको ठाउँमा खुला कारागारको छ विघा र तत्कालिन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिन छ । उक्त जमिन त्यहाँ राखिने कैदीलाई खेतीका लागि दिने नीति अघि सारिएको थियो । “कैदीले दिनभर खेतीपातीको काम गर्ने र बेलुकी कारागारमा आएर हाजिरी गरी त्यहीँ बस्ने अवधारणाका साथ उक्त कारागार बनाइएको हो”, उनले भने । 
खुला कारागारका संरचना प्रयोगविहीन भईरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदी÷बन्दी बस्न बाध्य  छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५६ कैदी÷बन्दीलाई ब्यवस्थापन गर्न समस्या भएको कारागार प्रमुख  सोनकरले बताए ।–रासस 
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार