पहिरोका कारण म्याग्दी मालिका गाउँपालिका–४ का ६ घरपरिवार विस्थापित

शुक्रबार, साउन २०, २०७९

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन् । 
मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए । “छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ”, उनले भने, “महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छौं ।”
छिपछिपेमा छाप जाने मोटरबाटोबाट पहिरो आएपछि विस्थापित भएका हुन् । सिद्धार्थ आमा समूह, परिवर्तन युवा क्लब च्युरीबोटका पदाधिकारी, सदस्य र स्थानीयवासीले विस्थापितका घरका सामान सारेका छन् । 

दुखखोलाको पुल बन्द 

म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुलमा आवतजावत बन्द गरिएको छ । दुखुखोलामा आएको बाढीले कटान गरेर पुल, पिलर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावियन पर्खाल बगाएको छ । पुलको मालिकातर्फको पिलरको जगभन्दा गहिरो भएर खोला बग्न थालेको छ । 
मालिकातर्फको पहुँचमार्ग साँघुरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जोखिम भएकाले दुखुखोलाको पुलमा आवतजावत बन्द गरिएको बताए । पुलका बारेमा थप अध्ययन गर्न मन्त्रालयबाट विज्ञ टोली बोलाएको अधिकारीले बताए । 
पुलमा आवतजावत बन्द गरिँदा मालिका र धवलागिरि गाउँपालिका सिधा यातायात सम्पर्क विच्छेद भएको छ । पुल संरचनाका लागि मालिका गाउँपालिकाले डोजर परिचालन गरेर नदी कटान नियन्त्रणको काम थालेको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । 
बेनी–दरवाङ मङगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । पूर्वाधार विकास कार्यालयले २०७६ सालमा दुखुखोलामा रु दुई करोड २५ लाख ६० हजारको लागतमा २२ मिटर लामो पुल निर्माण गरेको होे । पुल तल दुखुखोलाको बाढीले मङ्गला गाउँपालिका–२ सहश्रधाराको बस्तीतर्फ कटान गर्न थालेको छ । करिब २५ घर रहेको सहश्रधाराका बासिन्दाले कटान नियन्त्रणको माग गरेका छन् । बेनी दरवाङ सडकको फापरखेत घुमाउनेभिर र बाङ्गापहिरोको पहिरो पन्छाएर सो क्षेत्रमा यातायात सञ्चालन गरिएको छ ।–रासस 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार