उम्मेदवारको बन्दसूची बुझाएपछि मात्र संसद् निष्क्रिय हुने  

बिहीबार, साउन १९, २०७९

 काठमाडौं, ।  प्रतिनिधिसभा र प्रदेशसभा आगामी निर्वाचनका लागि उम्मेदवारका लागि बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि मात्र निष्क्रिय हुने भएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाच आगामी ४ मंसिरमा गर्ने निर्णय गरेको छ । उक्त निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।   ‘विगतको अभ्यासअनुसार आगामी निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि अहिले प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुन्छ,’ प्रवक्ता पाण्डेले  भने ।  २०७४ सालमा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि व्यवस्थापिका संसद् निष्क्रिय भएको उनको भनाइ छ । यही अभ्यासका आधारमा मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि निष्क्रिय हुने प्रवक्ता पाण्डेले बताए ।  

सरकारले निर्वाचनको मिति घोषणा गरे पनि संसद् सञ्चालनमा भने बाधा नपुग्ने उनको भनाइ छ । पाण्डेले सरकारले नयाँ विधेयक ल्याउन सक्नेदेखि सचिवालयमा दर्ता भएका विधेयक र प्रस्तावमाथि छलफल र पारित गर्न निर्वाचनको मिति घोषणाले बाधा नपुग्ने बताए । निर्वाचनको मिति घोषणा भएसँगै संसदको कार्यकाल कहिलेसम्म रहन्छ भन्ने विषयमा विभिन्न मत सार्वजनिक भएको छ । केही संविधानविद् निर्वाचनको मिति घोषणा भएसँगै संसद् स्वत विघटन हुने बताउँछन् । केही भने मनोनयन दर्ता भएपछि मात्र सांसदको कार्यकाल सकिने बताउँछन् ।    

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार