मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचनापछि यात्रु ओरालियो

शंकास्पद एकजना पक्राउ
बुधबार, साउन १८, २०७९
मयुर प्लाई

काठमाडौं । मुम्बई उड्न लागेको एक जहाजमा आतंकावादी रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको छ ।
प्रहरी मुख्यालयको सूचनाका आधारमा दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकले बताए । उनका अनुसार एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।
उक्त जहाजको उडान दिउँसो १ः१० मा थियो । मुम्बई उड्नुपर्ने आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच गरिएको छ ।

जहाजबाटै पक्राउ परेका व्यक्ति को हुन् रु प्रहरीभित्रै चर्कियो विवाद

मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालेर पक्राउ परेका व्यक्ति सुन चोरीमा संलग्न रहेको बताइएको छ । 
यसअघि सुरुमा आतंकवादी गतिविधिमा संलग्न व्यक्ति पक्राउ परेको खबर बाहिरिएको थियो ।
काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको जहाजबाट उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्ति नेपाली नागरिक हुन् । एक उच्च प्रहरी अधिकारीका अनुसार उनको डोटी जिल्लामा सुन पसल छ ।
केही समयअघि भारतबाट सुन चोरर केही व्यक्ति कैलाली आएको सूचनाका आधारमा प्रहरीको विशेष ब्यूरोले अनुसन्धान गरेको थियो ।
विशेष ब्यूरोले आतंकवादी गतिविधिसँग सम्बन्धित अनुसन्धान मात्रै गर्दै आएको छ ।  विशेष ब्यूरोले सुन चोरीको अनुसन्धान गरेकोबारे प्रहरी अधिकारी असन्तुष्ट देखिएका छन् ।
प्रहरीकै उच्च अधिकारीहरु भन्छन्,“विशेष ब्यूरोले के गर्ने के नगर्ने जानकारी पाएन । रनवेबाट व्यक्ति नियन्त्रणमा लिइयो । आतंककारी भनेर प्रचार गरियो यसले अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि धुमिल हुन्छ । विशिष्ट व्यक्तिहरु भ्रमणमा नआउन सक्छन् । निकै हलुका काम भयो ।”
काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेको सूचना आएपछि सबैलाई बाहिर निकालिएको थियो ।
कैलालीबाट विशेष ब्यूरोको टोलीले केन्द्रमा खबर गरेको थियो । सोही आधारमा काठमाडौंको टोली विमानस्थल पुगेको थियो ।
प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार पक्राउ परेका व्यक्ति चोरीमा संलग्न रहेको आशंका गरिएको छ । उनी आजै श्रीमतीसहित मुम्बई जान लागेको सूचनापछि प्रहरीले नियन्त्रणमा लिएको हो । ढिला सूचना आएकाले उनलाई रन वे मा पुगिसकेको जहाज रोकेर पक्राउ गरिएको हो ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार