सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार तीनदिने भ्रमणका लागि नेपाल आए । यो भ्रमणलाई दुई देशका सेनाबीच रहेको परम्पराभन्दा भिन्न रूपमा लिइनुपर्ने रणनीतिक मामिलाका विज्ञहरूले बताएका छन् । नेपाल-भारत सीमा विवादका कारण झन्डै एक वर्षसम्म लगभग संवादहीन रहेको दुई देशबीचको सम्बन्ध सैनिक तहमा भएको यो उच्चस्तरीय भ्रमणले केही सुधार ल्याउन सक्ने केही विश्लेषकहरूले धारणा छ । नेपाल र भारतबीच एक अर्काका सेनाप्रमुखलाई ‘मानार्थ महारथीको’ सम्मान दिने अभ्यास छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भूभाग भएको भन्दै देशको राजनीतिक नक्सामा स्पष्ट रूपमा राखेपछि त्यसबारे विवादास्पद अभिव्यक्ति दिएका नरवणेको भ्रमण कोरोनाभाइरस महामारी देखाउँदै यसअघि स्थगित भएको थियो । अहिले उनले व्यक्त गर्ने सन्देशलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न केही दिनअघि काठमाडौं आएका भारतीय गुप्तचर निकायका प्रमुखले ल्याएको सन्देशसँग दाँजेर हेर्नुपर्ने एक विश्लेषकको धारणा छ ।
उच्च चासो र व्यवस्थापन नेपाल र भारत दुवैले यो भ्रमण दुई देशबीचको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूणर् हुने धारणा भारतीय सेनाध्यक्षको नरवणे काठमाडौंमा ओर्लिनुअघि नै सार्वजनिक गरेका छन् । भारतीय सेनाध्यक्षले आफ्ना समकक्षी पूणर्चन्द्र थापा र उच्च सैनिक अधिकारीहरूसँग छलफल गर्नेबाहेक रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । बिहीबार अपराह्ण राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम छ । भारत र नेपालका सेना प्रमुखलाई एकअर्काको देशको मानार्थ महारथीको उपाधि दिने चलन छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालका अनुसार एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने विशिष्ट अभ्यास नेपाल र भारतका सेनाबीच मात्रै छ । उनका अनुसार सेनासँगको अभिलेखका अनुसार सन् १९५० मा भारतीय सेनाका प्रथम कमान्डर इन चीफ के एम करिप्पालाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइएको थियो । त्यसपछि सन् १९६९ निरन्तर रूपमा कायम रहेको उक्त परम्परा एक पटक भङग भएको थियो । नेपालमा भएको पहिलो जनआन्दोलनअघि भारतले नेपाललाई नाकाबन्दी लगाएको समयमा दुवै देशका प्रधानसेनापतिलाई सम्मान दिने कार्यक्रम आयोजना गरिएन । नेपाली सेनाका पदासीन प्रधानसेनापतिसहित १४ जनाले भारतीय सेनाको मनार्थ महारथीको दर्जा पाइसकेका छन् । नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने नरवणे १८ औँ भारतीय सेनाध्यक्ष हुनेछन् । आफ्नो भ्रमणको पूर्वसन्ध्यामा नरवणेले दुवै देशका सेनाले उच्च महत्व दिएको आपसी मित्रतालाई आफ्नो भ्रमणले थप बलियो बनाउने बताएका थिए । दुवै देशका सञ्चारमाध्यम र रणनीतिक मामिलाकारहरूले नरवणेको भ्रमण अर्थपूणर् रहेको बताइरहेका छन् । भ्रमणको अर्थ के रणनीतिक मामिलामा कलम चलाउने विश्लेषकहरू अहिलेको भ्रमणलाई परम्परा धान्ने सैनिक कूटनीतिका रूपमा मात्रै अर्थ लगाइनु नहुने बताउँछन् । सुरक्षा मामिलामा विश्लेषक इन्द्र अधिकारी भन्छिन्, ‘नेपाल र भारतबीच संवादका लगभग सबै ढोकाहरू एक हदसम्म बन्दजस्तै भइरहेको समयमा दुवै देशले विभिन्न माध्यम खोजिरहेको देखिन्छ । त्यस्ता संयन्त्रमध्ये एकदमै प्रतिष्ठित विश्वासिलो र भरपर्दो संयन्त्र सेना पनि रहेको हुनाले अहिलेको भ्रमणलाई विशेष रूपमा हेरिएको हो ।’ उनी थप्छिन्, ‘नेपाल र भारतका सेनाको सम्बन्ध अरू देशहरूको भन्दा फरक छ र सीमा जस्ता राज्यका गम्भीर विवादहरू सुल्झाउन अन्यत्र सेनाले पनि महत्वपूणर् भूमिका निर्वाह गरेको हामीले देखेका छौँ । नरवणेले नेपाली सेनामार्फत् सधैँ आफ्नो देशको तर्फबाट केही कुरा राख्न सक्छन् जस्तो मलाई लाग्छ ।’ तर भूरणनीतिक मामिलामा दक्खल राख्ने प्राध्यापक ध्रुवकुमार सीमा अतिक्रमणजस्ता संवेदनशील विषय ‘मिहिन कूटनीतिक र कुशल राजनीतिक प्रयास’ बाट मात्रै सम्भव हुने बताउँछन् । उनी भन्छन्, ‘मलाई आश्चर्य लाग्छ हामी हाम्रै देशको भूमि कब्जा गरी क्याम्प खडा गरी बसेको सैनिक बटालियनको नेतृत्व गर्ने भारतीय सेनाध्यक्षलाई कसरी मानार्थ सेनाध्यक्षको सम्मान दिन सक्छौँ ? मलाई लाग्छ नेपाल भारत सम्बन्ध खुफिया राजनीति र सैनिक कूटनीतिको नयाँ चरणमा प्रवेश गरिरहेको छ जसले राजनीतिक र कूटनीतिक सम्बन्धलाई अप्रासङिगक बनाइरहेको छ ।’ भारतीय सेनाध्यक्षको भ्रमणले दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार नै गरिहाल्नेमा प्राध्यापक धुव्र कुमार आशावादी छैनन् । तर भूराजनीतिक मामिलाका अर्का विज्ञ तथा दक्षिण एशियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक प्राध्यापक श्रीधर खत्री भारतीय सेनाध्यक्षले ल्याउने सन्देशलाई नेपालले मिहिन ढङगले केलाउनुपर्नेमा जोड दिन्छन् । उनले भने, ‘यदी उनले भरतीय गुप्तचर निकायका प्रमुखले ल्याएकै सन्देश लिएर आएका रहेछन् भने त्यो निक्कै गम्भीर कुरा हो । परम्परा निर्वाह गर्न भ्रमण भएको हो भने त्यसलाई त्यही हिसाबले हेर्नुपर्छ ।’ उनले थपे, ‘यसअघि कस्तो सन्देश आयो र अहिलेको भ्रमणमा के सन्देश आउँछ यसबारे प्रधानमन्त्रीको कार्यालय, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय बसेर गम्भीर रुपमा समीक्षा गर्नुपर्छ अनि हाम्रो देशको रणनीति तय गर्नुपर्छ जस्तो मलाई लाग्छ ।’ प्राध्यापक खत्री नेपाल र भारतका सेनाबीचको सम्बन्धलाई तालिम र रक्षा आदानप्रदान अनि एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथी दिने जस्ता परम्पराले त्यसलाई बलियो बनाइरहेको ठान्छन् । नरवणेको अभिव्यक्तिले निम्त्याएको हलचल भारतले काश्मीरको विशेष हैसियत समाप्त गर्ने क्रममा नेपालले आफ्नो दाबी गर्दै आएको कालापानी क्षेत्रलाई आफ्नो देशको नक्सामा राखेपछि काठमाडौं र दिल्लीबीच आरोप-प्रत्यारोप चलेको थियो । लगत्तै नेपाल, भारत र चीनको सीमाबिन्दुनजिक लिपुलेक क्षेत्रमा भारतले सडक उद्घाटन गरेपछि दुई देशको सम्बन्ध थप चिसिन पुग्यो । त्यसबेला कूटनीतिक नोटमार्फत् नेपालले व्यक्त गरेको असन्तुष्टि र तत्काल वार्ताका लागि गरेको अनुरोधलाई भारतले आफ्नो भूमिमा सडक बनाएको र कोरोनाभाइरसको महामारीपछि मात्रै वार्ता हुनसक्ने उत्तर दिएको थियो । त्यसबीचमा भारतीय सेनाध्यक्षले उक्त भूभाग भारतको भएको भन्दै नेपालले अरू कुनै देशको इसारामा प्रश्न उठाएको धारणा राखेका थिए । त्यसले निम्त्याएको हलचलमाझ नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गर्यो । नेपाल र भारतबीच झन्डै एक वर्ष लामो संवादहीनतापछि भारतीय सेनाका शीर्ष अधिकारी काठमाडौं आइपुग्दा आपसी सम्बन्ध सुधारमा यो भ्रमण महत्वपूणर् हुनसक्ने टिप्पणी भइरहेको छ । भारतीय वायुसेनाको विशेष विमानमा काठमाण्डूमा अवतरण गर्दा नरवणेलाई स्वागत गर्न गएका नेपाली सेनाका वरिष्ठ अधिकारीहरूले भारतीय र नेपाली झण्डा प्रष्ट देखिने खालका मास्क लगाएका थिए । भारतीय समाचार संस्था एअनआईसँग कुरा गर्दै नरवणेले आफ्ना नेपाली समकक्षी प्रधानसेनापति पूणर्चन्द्र थापाको निम्तोमा नेपाल भ्रमण गर्न पाउँदा आफू प्रसन्न रहेको उल्लेख गरेका थिए । त्यसबाहेक रक्षामन्त्री पनि रहेका प्रधानमन्त्री ओलीसँगको भेटवार्ताको अवसरप्रति आफू आभारी रहेको उनले बताएका थिए । बुधबार दिउँसो काठमाडौं आइपुगेका भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणेले अनौपचारिक भेटघाट सुरु गरेका छन् । नरवाणेले अपराह्न वशन्तपुर क्षेत्रमा नेपाली टोपी लगाएर भ्रमण गरी कुमारीको अवलोकन पनि गरे । भारतीय सेनाध्यक्ष नरवणे भारतीय वायु सेनाको विशेष विमान ’इन्डियन एयर फोर्स मार्फत काठमाडौं आएका हुन् । उनी सवार भारतीय सेनाको विमान ११ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भारतीय सेनाध्यक्ष नरवणेको स्वागतमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । भ्रमण दलमा नरवणेकी श्रीमतीसहित चार सदस्य छन् । भारतीय सेनाध्यक्षको भ्रमणको विरोध हुन सक्ने भन्दै चार वटै सुरक्षा निकायलाई विशेष रुपमा परिचालन गरिएको छ । बुधबार नै माइतीघर मण्डलामा नरवणेको भ्रमणको विरोधमा प्रदर्शन पनि भएको थियो ।