काठमाडौंबाट धादिङ र चितवन भएर गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक

मंगलबार, साउन १७, २०७९

काठमाडौं । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाण्डौको नयाँबसपार्क, कलंकी, गौशला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । अवरुद्ध सडक खुलेसँगै सवारी साधन सञ्चालनमा आउने छन् ।

चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेका कारण गएरातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोला, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित २ र ३ नम्बर पुलको बीचमा  पहिरो खसेको छ । जसका कारण गत रातदेखि नै सवारी आवागमन रोकिएको र पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।

 लम्जुङको वेशीशहर नगरपालिका १ उदिपुर र  मर्स्याङ्दी गाउँपालिका ४ काभ्रेभिरमा मंगलबार बिहानै पहिरो खसेको छ । जसका कारण लम्जुङ हुँदै मनाङ जाने सवारी साधन रोकिएका छन् ।

 पृथ्वी लोकमार्गअन्तर्गगत धादिङको बेनिघाट रोराङ गाउँपालिका १० तिङ्ग्राङ खानीमा पनि आज बिहानै पहिरो खस्दा आवागमन अवरुद्ध भएको छ । आज बिहान ३ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको छ । धादिङकै धुनिवेशी नगरपालिका ९ स्थित निमार्णाधिन सुरुङमार्ग नजिकै गएराति खसेको पहिरो भने पन्छ्याइएको छ । पहिरो पन्छ्याइएसँगै सवारी साधन एकलेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पुर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

पहिरोले नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध  छन् । सोमबार राति  ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् । नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्रकिलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।

ईच्छाकामना गाउँपालिका–६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए ।

पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना–३ कुरिनघाटमा बिहान ८ः५० बजे खसेको पहिरो पन्छाउने काम सुरु भएको उनले बताए । पहिराले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । लोडरको प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गरेको हो । लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार