विदेशी युवतीलाई नागरिकता दिनेविरुद्ध छानबिन सुरु

सोमबार, साउन १६, २०७९

वीरगञ्ज । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन  थालिएको  छ  । 
वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट  भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट  ३३ -०२-०७९-००५१३ नंको नागरिकता लिएको देखिएको छ  ।  
सो घटनाबारे  छानबिन थालिएको छ  । उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए । 
राईको जन्म मिति २०५८-११-१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ । यो जन्मदर्ता २०७९-०२-२३ गते वडा कार्यालयबाट बनाइएको हो । कीर्ते जालसाजी गरी  अभिभावकमा बुबाको नाम श्यामराज गोले र आमाको नाम जीरामाया गोले बनाएर नेपाली नागरिकता लिएको पाइएको छ ।  झुटो विवरण पेस गरेर भारतीय नागरिक राईलाई नेपाली नागरिकता लिएको घटना खुलेपछि निजगढ–१२ कार्यालयले सो नागरिकता बदरका लागि प्रक्रिया अघि बढाउन इलाका प्रशासन कार्यालय सिमरामा पत्राचार गरिसकेको छ  । 
रजनी गोले भन्ने रजनी राईको भारतीय आधार कार्डमा  ३७७९५६५०३५६६ नं लेखिएको छ भने भारतीय निर्वाचन आयोग परिचयपत्रमा टिक्युजी २०७६९२५ लेखिएको प्रमाण फेला परेको छ । उक्त परिचयपत्रमा निजको नाम रजनी राई, बुबाको नाम किशोर राई जन्म तारिख १९८९-०३-२४ रहेको छ । त्यसैगरी उनको भारतीय आधार कार्डमा रजनी राई (सिङ्गर) र पति छेडुप सिङ्गरसमेत लेखिएको छ ।–रासस 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार