अर्थमन्त्री जनार्दन शर्माले लिए शपथ

आइतबार, साउन १५, २०७९

काठमाडौं,  । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा पुनः  नियुक्त गरेका हुन् । 

पदभार ग्रहण
अर्थमन्त्री जनार्दन शर्माले आज साँझ पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री शर्माले आजै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको अभियोग लागेपछि उनले गत असार २२ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै राजीनामा दिएका थिए। आज मात्रै नेकपा (माओवादी केन्द्र) का तर्फबाट अर्थमन्त्रीमा शर्मालाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेको थियो । सोही आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका थियो । 
पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उनले विश्वव्यापी रुपमा अर्थतन्त्रमा समस्या देखिएको र त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको भन्दै आन्तरिक रुपमा सबलीकरण गर्न लागिपर्ने बताए । उनले भने, “हाम्रो अर्थतन्त्रको सबलीकरण गर्न लागिपर्छु ।” मन्त्री शर्माले त्यसका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने गरी काम गर्नुपर्ने बताए ।
उनले भने, “हाम्रो अर्थमन्त्र सबलीकरण गर्नुपर्छ । त्यसका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउनुपर्छ ।” उनले गत आवको बजेट कार्यान्वयनमा देखापरेका कमी कमजोरीलाई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयनमा लागिपर्ने बताए । 
उनले बजेट कार्यान्वयनका लागि कर्मचारीतन्त्रले सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरे । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दरमा हेरफेर गरेको आरोप लागे पनि नैतिकता देखाउँदै उनले राजीनामा दिएका थिए । उनले आफू छानबिनका लागि तयार रहेको बताएका थिए । प्रतिनिधिसभाले गठन गरेको समितिले उनलाई शुक्रबार निर्दोष रहेको बताएको थियो ।
पदभार ग्रहणपछि अर्थमन्त्री शर्माले निक्षेप बीमाको सीमा बढाउने निर्णय गरेका थिए । चालु आवको बजेटमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा विस्तार गरिन लागेको हो । नयाँ व्यवस्थाअनुसार अब निक्षेप बीमाको विद्यमान सीमा  तीन लाखबाट बढेर  पाँच लाख रुपैयाँ बराबर हुनेछ ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार