एसइईका उत्कृष्ट छात्रछात्रालाई एक–एक लाख पुरस्कार  

शनिबार, साउन १४, २०७९

खोटाङ  ।  केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने गाउँपालिकाभित्रका दुई विद्यार्थीलाई रु एक–एक लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट एसइई दिएकामध्येमा सबैभन्दा बढी अङ्क ल्याउने एक छात्र र एक छात्रालाई गाउँपालिकाले नगद पुरस्कार प्रदान गर्ने भएको हो ।  

विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका प्रमुख समिर राईले बताए  । विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम गाउँपालिकाको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।  

यस्तै एसइई दिएका गाउँपालिकाभरिका गरिब तथा जेहेन्दार दुई छात्र–छात्रालाई गाउँपालिकाले पढाउने भएको छ । उनीहरूका लागि गाउँपालिकाले १८ महिने प्राविधिक शिक्षा अध्ययनको व्यवस्था मिलाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।   एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने दुई विद्यार्थी र गरिब तथा जेहेन्दार दुई विद्यार्थी पहिचान गर्ने कामको थालनीसमेत गरिएको गाउँपालिकाले जनाएको छ । उनीहरूलाई आगामी भदौ–२३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सार्वजनिक गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ ।  

विसं २०७८ को एसइईमा गाउँपालिकाको सातवटा सामुदायिक विद्यालयबाट दुई सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दै गएपछि त्यसलाई रोक्न गाउँपालिकाले विद्यार्थी प्रोत्साहन कार्यक्रम गाउँसभाबाटै पारित गरेर ल्याएको हो ।  गत वैशाख ९ गतेबाट २० गतेसम्म देशभर सञ्चालन भएको एसइई परीक्षाको नतिजा गत साउन ११ गते सार्वजनिक भइसकेको छ । जिल्लाबाट तीन हजार आठ सय नौ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए    ।  

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार