दोब्बरले बढे शुक्लाफाँटामा पाटे बाघ, स्थानीय त्रासमा  

शनिबार, साउन १४, २०७९

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ । पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको सङ्ख्या आठ रहेको छ ।
बाघको बासस्थानमा सुधारसँगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी शिकारी पूर्णरुपमा नियन्त्रण हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग र समन्वयका कारण बाघको सङ्ख्या बढेको बताइएको छ । “सन् २०२२ भित्रै बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता पुरा भएको छ”, उनले भने, “यसलाई निकै ठूलो उपलब्धिका रुपमा लिएका छौँ ।” गत वर्षको माघ २९ देखि २१ दिनसम्म स्वचालित क्यामेराको सहायताले बाघ गणनाको कार्य गरिएको थियो ।

बाघ
शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको दुई सय ६० ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । थोरै क्षेत्रफलमा धेरै बाघको घनत्व पाइने क्षेत्रका रुपमा निकुञ्ज परिचित रहेको छ । निकुञ्जमा सन् २००८ देखि बाघ गणनाको कार्य हुँदै आएको छ । सन् २००९ मा निकुञ्जमा बाघको सङ्ख्या आठ वटा मात्रै रहेको थियो । त्यो सङ्ख्या बढेर अहिले ३६ पुगेको छ । 
अघिल्लो वर्ष निकुञ्जमा १९ वटा पाटेबाघ फेला परेका थिए । सन् २०१३ मा १७, सन् २०१८मा १६ वटा पाटेबाघ देखा परेका थिए । निकुञ्जमा दुई वर्षको अवधिमा दुई वटा बाघ मृतावस्थामा फेला परेका थिए । निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

बाघको सङ्ख्या बढेसँगै त्रास
लोप हुन लागेको पाटे बाघको सङ्ख्या नेपालमा बढ्दो क्रममा छ नेपालले पछिल्लो १० वर्षमा बाघको सङ्ख्या दोबरभन्दा बढी पुर्‍याउने असाधारण उपलब्धि प्राप्त गर्दै बाघलाई लोप हुनबाट जोगाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ ।
तर उक्त कार्यको मूल्य स्थानीय समुदायले बेहोरेका छन्। बाघबाट हुने आक्रमणको सङ्ख्या बढेको छ । 
‘बाघसँग जम्काभेट हुँदा तपाईँमा दुई फरक भाव उत्पन्न हुन्छ’ बाघ संरक्षणका लागि गठन गरिएको एउटा एकाइका सदस्य क्याप्टेन आयुस जङ्गबहादुर राणा भने । बर्दियामा सशस्त्र गस्तीमा निस्किँदा उनले कैयौँ पटक पाटे बाघ देख्छन् ।
तराइ क्षेत्रमा रहेको बर्दियास्थित राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो र मानव गतिविधिबाट कम प्रभावित स्थान मानिन्छ ।
‘बाघ संरक्षणको जिम्मा पाउनु सम्मानको कुरा हो। यति महत्त्वपूर्ण काममा सहभागी हुन पाउनु गर्वको विषय हो’ राणा भन्छन् ।
बाघको चोरी सिकारप्रति नेपालले अपनाएको नीतिले संरक्षणको पहललाई सफल बनाएको छ । राष्ट्रिय निकुञ्ज अन्तर्गतका टोलीलाई सेनाले पनि साथ दिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरी सिकार जस्ता गतिविधिको अनुगमन सामुदायिक एकाइले गर्छ जसले गर्दा बाघहरू सुरक्षित रही खुला रूपमा घुम्न पाउँछन् ।

बाघको बाटो
त्यस्तै एउटा मध्यवर्ती क्षेत्रसँगै रहेको खाता जैविक मार्गले बर्दिया राष्ट्रिय निकुञ्जलाई सीमा पार रहेको भारतको कतरनियाघाट वन्यजीव अभयारण्यसँग जोड्छ ।
तर बाघको सङ्ख्या बढ्दै जानुले निकुञ्ज आसपासका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणका लागि ज्यानै गुमाउने खालका जोखिम उत्पन्न गरेको छ । 
‘पूरा समुदायले नै त्रासदीपूर्ण जीवन बिताइरहेको छ’ संरक्षणवादी व्यवसायी मनोज गौतमले भने।

बाघ
बाघको आक्रमण 
प्रायजसो गाउँलेहरू राष्ट्रिय निकुञ्ज जाँदा, मध्यवर्ती क्षेत्रमा गाईवस्तु चराउन, फलफूल र च्याउ टिप्न वा दाउरा खोज्न जाँदा बाघको आक्रमणमा पर्ने गरेका छन् । निकुञ्जबाट जैविक मार्ग हुँदै गाउँसम्म बाघ पुगेका केही घटना पनि छन् ।

TIGER-ATTACK1656156293.jpeg
वन्यजन्तु अनि मानव छुट्टिएर बसून् भन्नका लागि तार बारको व्यवस्था गरिएको छ तर वन्यजन्तुले सहजै त्यसलाई पार गर्न सक्ने अवस्था छ ।
भदै थारु
संरक्षणमा सहयोगी भूमिका निर्वाह गरेका भदै थारुको शरीरमा बाघसँग भएको भिडन्तको दाग टडकारो छ।
सन् २००४ मा आफ्नो गाउँ नजिकै रहेको सामुदायिक वनमा घाँस काट्दै गर्दा उनीमाथि बाघले आक्रमण गर्‍यो। उक्त घटनामा उनले एउटा आँखा गुमाए । 
‘ठूलो गर्जनसहित बाघले मेरो अनुहारमा झम्टियो’ घटनाको दृश्य झल्कने गरी अभिनय गर्दै उनले भने।
‘म केही पछि धकेलिएँ। त्यसपछि उफ्रिरहेको भकुन्डो जस्तै गरी बाघ मतिर फर्कियो । सके जति बल प्रयोग गरेर मैले मुड्की हाने र सहयोगका लागि बेसरी चिच्याएँ’, उनलले भने । उनले आफ्नो चस्मा विरलै फुकाल्छन् । चस्मा फुकाल्दा बाघ आक्रमणका कारण उनको मुहारमा रहेको गहिरो दाग देखिन्छ। घटनामा उनले गुमाएको एउटा आँखा पनि देख्न सकिन्छ । 
‘म रिसाएँ अनि दुखी पनि भएँ। संरक्षणवादीका हिसाबले मैले गलत के गरेँ ?’ उनले स्मरण गरे, ‘तर बाघ लोपोन्मुख जनावर हो। यसलाई जोगाउनु हाम्रो कर्तव्य हो ।’

1639899407.jpg
बाघहरूको पछिल्लो इतिहास त्यति राम्रो देखिँदैन । एक शताब्दी अघि एशियामा बाघको सङ्ख्या झन्डै १ लाख थियो । सन् २००० को सुरुतिर त्यो सङ्ख्या चोरी सिकार र वासस्थानको अभाव जस्ता कारणले ९५ प्रतिशतले कम भएको पाइएको थियो । हाल जङ्गलमा ४,००० भन्दा कम बाघ छन् ।
लोप हुन लागेका वन्यजन्तु संरक्षण गर्नका लागि सन् १९८८ मा बर्दियामा ९६८ वर्ग किलोमिटर फैलिएको राष्ट्रिय निकुञ्ज स्थापना गरियो । त्यसअघि उक्त क्षेत्र शिकार आरक्ष थियो ।
सन् २०१०मा बाघको वासस्थानका रूपमा चिनिएका १३ देशले सन् २०२२ सम्ममा उक्त वन्यजन्तुको सङ्ख्या दोबर पार्ने प्रतिबद्धता जनाएका थिए । ती देशमध्ये हालसम्म लक्ष प्राप्त गर्ने राष्ट्र नेपाल मात्रै हो । नेपालमा सन् २००९ मा १२१ रहेको बाघको सङ्ख्या १० वर्षमा बढेर ३५५ पुगेको छ । नेपालका मुख्य रूपमा पाँच राष्ट्रिय निकुञ्जमा बाघको वासस्थान रहेको पाइन्छ। गैँडा, हात्ती र चितुवाको सङ्ख्या पनि बढेको छ ।

कुनै समय सिकारका लागि प्रयोग हुने वनमा हाल संरक्षण कार्य अघि बढाइएको छ । जङ्गली बाघहरूको सङ्ख्या कायम राख्नका लागि निकुञ्जका अधिकारीहरूले थप घाँसे मैदानहरू सिर्जना गरेका छन् ।
बाघको मुख्य आहार हरिणका लागि उचित वासस्थान बनाउन पानी पिउने स्थानको सङ्ख्या पनि बढाइएको छ।
तर बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वार्डन विष्णु श्रेष्ठ भने यस्ता मानवीय हस्तक्षेपका कारण बाघको सङ्ख्या बढेको कुरा अस्वीकार गर्छन् । 
‘निकुञ्जमा अहिले हामीसँग पर्याप्त स्थान अनि आहार घनत्व छ जस कारण हामीले दिगो रूपमा बाघको व्यवस्थापन गरिरहेका छौँ’, उनले थपे ।
बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै बसोबास गर्ने सर्वसाधारणले धेरै हदसम्म संरक्षणका पहलमा सहयोग गरेका छन् । तर बाघको सङ्ख्या बढेसँगै बढ्दो असहजता उत्पन्न भएको छ ।
‘पर्यटकहरू बाघ हेर्न आउँछन् । तर हामी उनीहरूसँगै बस्छौँरबस्न बाध्य छौँ’, गत वर्ष बाघले गरेको आक्रमणमा आफ्नी सासू गुमाएकी सम्झनाले भनिन् । बाघले आक्रमण गर्दा उनकी सासू निकुञ्ज भित्र घाँस काटिरहेकी थिइन् । ‘मैले उहाँलाई आफ्नै आमाभन्दा बढी माया गर्थे’, आफूसँग भएको उनको एक मात्रै तस्बिर देखाउँदै सम्झनाले भनिन् । आफ्नी सासू गुमाएकी सम्झना क्षतिपूर्तिका लागि लडिरहेकी छन् । ‘अबका केही वर्षमा म जस्तै भोगाइ धेरै परिवारको हुनेछ र पीडितको सङ्ख्या बढ्ने छ’ उनले भनिन् । खेती गर्ने जमिनबाहेक बाघहरू आसपासका गाउँमा पनि पुगेका छन् ।
यसै वर्ष मार्च महिनामा बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा रहेको सैनाबगर गाउँकी लिली चौधरी घर नजिकै सुँगुरलाई आहारा दिन गइन् । गाउँलेहरूले पछि उनलाई गम्भीर अवस्थामा फेला पारे । उनी बाघ आक्रमणमा परेकी थिइन् । केही बेरमै उनको मृत्यु भयो ।
‘त्यो दिनदेखि सुँगुर वा अन्य घरपालुवा जनावरलाई आहारा दिनका लागि एक्लै जान हामी त्रस्त भएका छौँ’, चौधरीकी बहिनी अस्मिता थारुले भनिन् ।
गत जून महिनाको ६ तारिखमा सामुदायिक वनमा बाघले एक व्यक्ति मारेको एक साता नबित्दै अस्मिता थारु र उनका श्रीमान्‌लाई चितुवाले आक्रमण गरेपछि सर्वसाधारणहरू आन्दोलित भएका थिए ।
आफूहरूलाई सुरक्षित राख्न विभिन्न निकायले थप कामहरू गर्नुपर्ने माग राख्दै झन्डै ३०० मानिसहरू सडकमा उत्रिए । त्यो भीडले सामुदायिक वन कार्यालयमा आगजनी समेत गरेको थियो । घटनास्थल पुगेको प्रहरी माथि ढुङ्गा मुढा गरियो ।
त्यसपछि प्रहरीले गोली प्रहार गर्‍यो जसमा चितुवाले आक्रमण गरेको जोडीको भतिजीले ज्यान गुमाइन् । घटना हुँदा उनका भाइ नवीन थारु उनीभन्दा केही मिटर मात्रै टाढा थिए । ‘मैले उनको शव सडकबाट बाहिर निकाल्न चाहेको थिए । तर प्रहरीले मानिसहरूमाथि कुटपिट गरिरहेको थियो’, उनले भने ।
‘मेरी बहिनीले के गलत गरेकी थिइन् ? के सुरक्षाको माग गर्नु गलत हो ? के सुरक्षित हुन पाउनुपर्ने माग गर्नु गलत हो ?’ उनले भने ।

KrishnaNeupane_Damauli_RSS_02_Chituwakhorphoto1655648061.jpg

मान्छे खाने बाघ खोरमा 
नेपालमा मानव मार्ने बाघको पहिचान गरी कैद गरिन्छ। हालसम्म मानव खाएको भनिएका सात वटा बाघ खोरमा छन् ।
‘बाघ संरक्षण हाम्रो उत्तरदायित्व हो । सँगसँगै मानव संरक्षण हाम्रो कर्तव्य हो’, क्याप्टेन आयुस जङ्गबहादुर राणाले भने । रासस/बिबिसि

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार