सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्टीकरण सोधेको छ । दाङमा नेकपा एमालेको चुनाव चिह्न सूर्यअंकित झन्डा जलाइएको विषयमा स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । शुक्रबार (फागुन ८) बेलुका रास्वपा दाङ सभापति विनय घिमिरेका नाममा स्पष्टीकरणपत्र पठाइएको उनले बताए । “दाङ जिल्लाको रास्वपा सभापतिको नाममा हिजो बेलुका पत्र काटिएको हो,” उनले भने । यही फागुन ७ गते राति करिब साढे ९ बजे तुलसीपुर उपमहानगरपालिका–५, वीरेन्द्रचोकमा एमालेको झन्डा जलाइएको थियो । रास्वपाका सभापति रवि लामिछाने सुर्खेतबाट दाङ आउने क्रममा उक्त घटना भएको थियो । लामिछानेलाई स्वागत गर्न उपस्थित भीडमा रहेका केही व्यक्तिहरूले झन्डा जलाउनुका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । उक्त घटनामा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । एमालेको झन्डा जलाएको आरोपमा थप २ जना पक्राउ तुलसीपुरमा एमालेको झन्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन् । गत फागुन ७ गते तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झन्डा जलाइएको थियो। सोही घटनाको अनुसन्धानलाई निरन्तरता दिने क्रममा प्रहरीले यी दुई जनालाई नियन्त्रणमा लिएको हो। यसअघि प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरिसकेको थियो । योसँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। प्रहरीका अनुसार हालसम्म पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको पनि खोजी कार्य जारी राखिएको छ ।