सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले चीनको हाङझाउमा आयोजना हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई ३२ लाख ५० हजार प्रदान गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा यहाँ आयोजित कार्यक्रममा उनले राष्ट्रका लागि पसिना बगाउने खेलाडीका लागि पुरस्कारस्वरूप उक्त रकम प्रदान गर्ने बताए । मन्त्री गहतराजले उक्त प्रतियोगितामा रजत जित्ने खेलाडीलाई रु १९ लाख ५० हजार र कास्यपदक जित्नेलाई १३ लाख प्रदान गर्ने जानकारी दिए । एशियाली खेलकुद प्रतियोगिता आगामी २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तरिखसम्म हुने तय भएको छ । यसैगरी मन्त्री गहतराजले उक्त प्रतियोगिता तयारीमा केही कमी नरहने भन्दै खेलाडीे प्रशिक्षणका लागि थप आवश्यक रकम विनियोजन गर्न पछि नहट्ने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १९औँ एशियाली खेलकुद प्रतियोगिता तयारीका लागि आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । यसैगरी राखेप सदस्य सचिव टङ्कलाल घिसिङले एशियाली खेलकुद प्रतियोगिता तयारीका लागि खेलाडीले निकै मेहनत गरिरहेको भन्दै उक्त प्रतियोगिताका लागि सरकारले १० करोड बजेट छुट्याएको जानकारी दिए ।
एशियाली खेलकुद प्रतियोगिताको पहिलो चरणको ४० दिनको प्रशिक्षण सम्पन्न भएको छ । अबको केही दिनपछि दोस्रो चरणको प्रशिक्षण सुरु गर्ने राखेपले जनाएको छ ।
राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन
नवौँ राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले विभिन्न १२ विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले १४ मध्ये १२ उपसमिति गठन गर्ने निर्णय गरेको हो । विषयगत उपसमितिका संयोजक र सचिव पनि तोकिएको छ । बाँकी दुई उपसमिति सुरक्षा प्रबन्ध र अनुसन्धान उपसमिति चाँडै गठन गरिने बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव घिसिङले जानकारी दिए ।
समारोह उपसमितिको संयोजकमा राखेपका सदस्य एकेन्द्र कुँवर र सचिवमा प्रशासकीय अधिकृत शारङ्गन निरौला, प्राविधिक उपसमितिको संयोजकमा नायब वरिष्ठ प्रशिक्षक हिमालराज दाहाल र सचिवमा नायब वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य राजेश गुरुङ र सचिवमा प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, बसोबास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र सचिवमा प्रशासकीय अधिकृत चन्द्रकुमार राई, अनुशासन उपसमितिको संयोजकमा पेमा लामा र सचिवमा कानून शाखाका प्रमुख नारायणराज अर्याल तथा स्वास्थ्य उपसमितिको संयोजकमा डा बुलन्द थापा र सचिवमा ज्ञानेन्द्रविक्रम शाह हुन् । त्यस्तै यातायात व्यवस्था उपसमितिको संयोजकमा राखेपका सदस्य प्रकाश कुसारी र सचिवमा पौडी शाखाका प्रमुख देवराज कटुवाल, प्रचारप्रसार उपसमितिको संयोजकमा दीपेन्द्र विष्ट र सचिवमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खुसराज दाहाल, खेल सामग्री तथा पोशाक व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य अञ्जन धमला र सचिवमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, स्रोत परिचालन उपसमितिको संयोजकमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र सचिवमा सङ्घसंस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल, स्वयंसेवक उपसमितिको संयोजकमा राखेपका सदस्य जनक बर्तौला र सचिवमा प्रशासकीय अधिकृत लीलाराम बस्नेत तथा एन्टी डोपिङ उपसमितिको संयोजकमा डा नमिसमान प्रधान र सचिवमा प्रशासकीय अधिकृत दोबे तामाङ हुन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । उक्त प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएनए गरी ११ टिमले विभिन्न ३६ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।–रासस