सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ । जो बाइडनले आफ्नो महत्वपूर्ण अग्रता देखिएपछि भने, ‘जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ ।’ राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सिल्भेनिया र जोर्जिआमा मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ । त्यसअघि सो समूहले विस्कन्सिनमा पुनः मतगणना माग्ने जनाएको थियो । बाइडेनले बनाए सङ्क्रमणकालीन टोली निर्वाचित भएदेखि पदभार नसम्हालेसम्म राष्ट्रपति–निर्वाचित उम्मेदवारले’ सङक्रमणकालीन टोली’ बनाउने गर्छन् । अहिलेसम्म अमेरिकी निर्वाचनको मतगणनामा जो बाइडन वा डोनल्ड ट्रम्प कोही पनि स्पष्ट विजेताका रूपमा अगाडि आएका छैनन् । दुवै उम्मेदवारले आफू विजयतर्फ उन्मुख भएको दाबी गरिरहेका छन् । यसैक्रममा बाइडनको टोलीले भने नयाँ बेवसाइट सुरु गरेको छ । यसमा लेखिएको छः ‘देशले सामना गरिरहेको सङ्कट गम्भीर छ ( महामारीदेखि आर्थिक मन्दीसम्म, जलवायु परिवर्तनदेखि जातीयता आधारित अन्यायसम्म, र सङक्रमणकालीन टोलीले पूर्ण गतिमा तयारी गरिरहेको छ जसले गर्दा बाइडन–ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सकोस् ।’ बुधवार बाइडनले जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पहिलो दिनमा पुनः जोडिने वाचा दोह¥याएका थिए । सो सम्झौताबाट ट्रम्पले सन् २०१६ मा गरेको निर्णय स्वरूप बुधवार नै अमेरिका औपचारिक रूपमा छुट्टिएको छ । डेमोक्र्याट पार्टीलाई महत्वपूर्ण अग्रता, नतिजा अझै अस्पष्ट अहिलेसम्म ५० मध्ये ४३ राज्यबाट मतपरिणाम आइसकेको छ । अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए । अहिलेसम्मको अवस्थामा डेमोक्रयाट उम्मेदवार जो बाइडनले अग्रता लिएका छन् तर स्पष्ट रूपमा कसले जित्छ भन्ने भन्नसक्ने अवस्था छैन । अन्तिम परिणाम ’ब्याटलग्राउन्ड स्टेट’ भनिने एरिजोना, जोर्जिया, विस्कन्सिन र पेन्सिल्भेनियाले निर्धारण गर्नेछन् । अहिलेसम्म टेक्सस, ओहायो र फ्लोरिडासहित २३ वटा राज्यमा ट्रम्पले जित्ने देखिएको छ । ती राज्यमा मत सर्वेक्षणले देखाएभन्दा उनले राम्रो मत ल्याएका छन् । राष्ट्रपति ट्रम्पले धाँधली भएको आरोप लगाउँदै मतगणनालाई सर्वोच्च अदालतमा चुनौती दिने बताइ सकेका छन् । ट्रम्पका कार्यकर्ताहरूले पेन्सिल्भेनिया, विस्कन्सिन, जोर्जिया र मिशिगनमा मतगणना रोक्न कानुनी प्रक्रिया अघि बढाएका छन् । बाइडन पक्षधरहरूले ट्रम्पको टिप्पणीलाई ’आपत्तिजनक’ भन्दै मतगणना रोकिनु नहुने माग गरेका छन् । अमेरिकामा यसपालि ६६.९ प्रतिशत मत खसेको आकलन गरिएको छ जुन १२० वर्षमा सर्वाधिक भएको बताइन्छ । तर अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्छ । मतगणना भइरहेका राज्यमा विरोध र प्रदर्शन अमेरिकाका केही शहरहरूमा विरोध प्रदर्शन सुरु भएका छन् । कुनै स्थानमा ट्रम्पका समर्थकहरूले मतगणना रोक्न माग गरेर प्रदर्शन गरेका छन् भने केही स्थानमा बाइडनका समर्थकहरूले प्रत्येक मत गणना गर्न दबाव दिन प्रदर्शन गरेका छन् । एरिजोनाको मेरिकोपा काउन्टीमा मतगणना केन्द्रमा रिपब्लिकन पार्टीका समर्थकहरू जम्मा भएका छन् । उनीहरू सोशल मिडियामा त्यहाँ ट्रम्पलाई परेका मतहरू नगनिएको भन्ने दाबीमा विश्वास गरेर जम्मा भएका हुन् । प्रहरी बोलाइए पनि गणना भने रोकिएको छैन । ओरेगनको पोर्टल्यान्डमा ट्रम्पविरोधी प्रदर्शन हिंसात्मक भएपछि न्याश्नल गार्डलाई बोलाइएको छ । केही प्रदर्शनकारीहरूले तोडफोड गरेपछि प्रहरी बोलाइएको हो । मिनियापोलसिमा प्रहरीले मुख्य सडकमा अवरोध गरेका २०० प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । उनीहरू ट्रम्पविरोधी रहेको बताइएको छ । न्यूयोर्क, फिलाडेल्फिया र शिकागोमा पनि यस्तै खाले प्रदर्शनहरू भएका छन् । डिट्रोइटमा ट्रम्प समर्थक प्रदर्शनकारीले गणना केन्द्रको झ्यालमा हिर्काउँदै गणना रोक्न माग गरेका छन् । नेभाडामा पनि बिहान पत्रकार सम्मेलनको क्रममा एक प्रदर्शनकारी क्यामराको अगाडि आएर बाइडनले निर्वाचनमा धाँधली गरेको र अमेरिकी सञ्चारमाध्यमले त्यसलाई ढाकछोप गरेको आरोप लगाएका थिए । अमेरिकाले नचाहेको असहज अवस्था अमेरिकी राष्ट्रपतीय निर्वाचनको बारेमा धेरै अमेरिकीहरूले एउटा अवस्था नआओस् भनेर कामना गरेका थिए । अहिलेको अवस्था ठ्याक्कै त्यही हो । मतपरिणाममा ढिलाइ, मुद्दामामिला, विरोध प्रदर्शनहरू र त्यसले गर्दा उत्पन्न असहज परिस्थितिले अमेरिकी प्रजातन्त्रलाई चुनौती दिइरहेका छन् । यो अवस्था कसरी आयो ? डेमोक्र्याट उम्मेदवार जो बाइडनको २४३ इलेक्टरल मत छ भने राष्ट्रपति डोनल्ड ट्रम्पको २१४ छ । राष्ट्रपतिमा निर्वाचित हुन २७० पुग्नुपर्छ । अहिलेको अवस्थामा बाइडनलाई केही सहज देखिएपनि मतपरिणाम जसको पक्षमा पनि हुनसक्छ । बाइडनले मिशिगनमा जित्ने प्रक्षेपण गरिएको छ । मिशिगन गत निर्वाचनमा ट्रम्पले जित्नुअघि डेमोक्र्याटिक पार्टीको गढ मानिन्थ्यो । जोर्जिआका अधिकारीहरूले सबै मत नगनेसम्म गणना जारी राख्ने बताएका थिए । तर नेपाली त्यहाँ ९० हजार मत गणना हुन बाँकी थिए । सुरुदेखि अग्रता लिएका ट्रम्पको अग्रता कम हुँदै आएर २८ हजार मत भएको छ । नेभाडामा कडा प्रतिस्पर्धा भइरहेको छ । बाइडनले त्यहाँ ७,६४७ मतले मात्रै अग्रता लिएका छन् र त्यहाँ नेपाली समयानुसार आज बेलुकी ७ः४५ मा मात्रै नयाँ नतिजा दिइने बताइएको छ । एरिजोनाले बिहानसम्म पनि नयाँ मतहरू आइरहेको बताएको छ र त्यहाँको प्रक्षेपण कहिले हुन्छ भन्ने स्पष्ट छैन । बाइडनले २०,५१० मतले अग्रता लिएको विस्कन्सिनको प्रक्षेपण बीबीसीको साझेदार संस्था रोयटर्सले गरेको छैन । पेन्सिल्भेनियामा ट्रम्पको अग्रता रहेपनि दूरी कम भएको छ । ९० प्रतिशत मत गणना भइसक्दा ट्रम्प १६४,४१४ मतले अगाडि छन् । बुधवार एउटा समय ट्रम्पको लगभग ३८०,००० मतको अग्रता थियो । नोर्थ क्यारोलाइनामा ९६ प्रतिशत मतगणना हुँदा ट्रम्पले ७६,७३७ मतले अग्रता लिएका छन् । ट्रम्पको अभियानले जोर्जिआमा पनि कानुनी चुनौती दिएपछि कुल चार राज्यमा कानुनी चुनौती परेको छ । ट्रम्पका कानुनी चुनौती कहाँ कस्ता छन् अमेरिकामा राष्ट्रपतीय निर्वाचनका डेमोक्यक्रयाटिक उम्मेदवार जो बाइडनले मतगणना परिणाममा अग्रता लिएका छन् । तर उनका रिपब्लिकन प्रतिद्वन्द्वी राष्ट्रपति डोनल्ड ट्रम्पले मुख्य चार राज्यमा मतगणनालाई कानुनी चुनौती दिएका छन् । विदेशी चलखेल भएको प्रमाण छैन’ अमेरिकी राष्ट्रपतीय मतगणनामा अहिलेसम्म कुनै विदेशी शक्तिले कुनै चलखेल गरेको प्रमाण नभएको गृह मन्त्रालयका प्रमुख साइबर सुरक्षा अधिकारीले बताएका छन् । क्रिस्टोफर क्रेब्सले एउटा वक्तव्यमा ‘कुनै विदेशी शक्तिले अमेरिकी नागरिकलाई मतदान गर्न रोक्ने वा मतगणना परिवर्तन गर्ने क्षमताको प्रमाण’ नरहेको बताएका छन् । अमेरिकी जासुसी संस्थाहरूले सन् २०१६ को निर्वाचनमा रुसले चलखेल गर्न खोजेको निष्कर्ष निकालेका थिए । ‘हामी अहिले भइरहेको मतगणना र नतिजा प्रमाणीकरणसम्म कुनै बाधा नआओस् भनेर चनाखो रहने छौँ’, क्रेब्सले भने । बाइडनको सङ्क्रमणकालीन वेबसाइट शुरू संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि हुने निर्वाचन नोभेम्बर महिनामा गरिने भएपनि विजयी उम्मेदवारको राष्ट्रपति पदको शपथग्रहण जनवरी २० मा मात्रै हुन्छ ।